कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि ३ करोड ३९ लाख बराबरको सहयोग

  • कालिका खवर
  • बिहिबार, भदौ ११, २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि रु. ३ करोड ३९ लाख बराबरको सहयोग उपलब्ध गराएको छ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु. ३ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

    त्यस्तै, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन बैंकले करिब रु. ३९ लाख बराबरका विभिन्न सामग्री नेपाली सेनालाई उपलब्ध गराएको छ। बैंकले ५ वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, ३ वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाएको जनाएको छ।

    हालैको प्राकृतिक विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लाहरू प्रभावित भएका छन्। प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारसँग समन्वय गरी सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

    कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्दै उक्त सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

    विपद्को यस कठिन घडीमा बैंकले प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनर्स्थापना कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरेको छ। साथै, बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar