अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

  • कालिका खवर
  • सोमवार, कार्तिक ३, २०८२
  • फुङ्लिङ : ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् ।

    बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् । फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जाने भएकाले बगानमै व्यस्त भएको उनले बताए ।

    फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहेका छन् । दसैँ परिवारसहित बगानमै मनाउनु भएको उनले तिहार पनि त्यहीँ मनाउने तयारी गरिरहेका छन् । “चालीस वर्षदेखि अलैँचीखेती गरिरहेको छु ।” उनले भने,“छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ ।” किसान शेर्पाको ८० रोपनी बगान टिपाइसक्ने योजना छ ।

    तर टिपाइपछि छोडाउने, सुकाउने र भट्टिमा तयारी गर्न एक हप्ताभन्दा बढी समय लाग्ने उनको भनाइ छ । जिल्लामा बेँसी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मङ्सिरसम्म अलैँची टिपाइ गर्ने चलन छ । जिल्लाका ९ स्थानीय तहमध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँचीखेती हुन्छ । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ ।

    अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ । आइतबार ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य रु ८८ हजारमा खरिदबिक्री भइरहेको व्यवसायी कमल बरालले बताए । अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ । बगानमा काम गर्ने मजदुरले दैनिक ५०० देखि ७०० सम्म ज्याला पाउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar