सिरहामा बालकको हत्या, मागिएको थियो ५ करोड फिरौती

  • कालिका खवर
  • मङ्लबार, अशोज ७, २०८२
  • सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३, दुर्गापुर डङ्ग्राहका १४ वर्षीय बालक अभिषेक कुमार सिंहको हत्या भएको छ। उनको शव मंगलबार बिहान फेला परेको हो। तीन दिनअघिदेखि बेपत्ता भएका अभिषेकको शव अर्जुन आधारभूत विद्यालय नजिकै विभत्स अवस्थामा भेटिएको वडा अध्यक्ष नन्द कुमार महतोले जानकारी दिए। अभिषेक असोज ५ गते आइतबारदेखि हराएका थिए।

    सुरुमा परिवारले उनी साथीहरूसँग ‘झिंजिया’ हेर्न गएको ठानेर त्यति धेरै खोजतलास गरेनन्। तर, अर्को बिहानसम्म पनि उनी घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो। यही क्रममा परिवारका सदस्य वडा अध्यक्ष महतोकहाँ पुगेका थिए। त्यतिबेला मोबाइलमा इमोमार्फत ५ करोड रुपैयाँ फिरौती माग गरिएको सन्देश आएको पाइएको वडा अध्यक्ष महतोले बताए। हिन्दीमा लेखिएको उक्त सन्देशमा सेप्टेम्बर २५ भित्र रकम बुझाउन भनिएको थियो। साथै, प्रहरी वा पत्रकारलाई खबर गरेमा जे पनि हुन सक्ने धम्की पनि दिइएको थियो।

    घटनाबारे जानकारी पाएलगत्तै वडा अध्यक्ष महतोसहित स्थानीयले आफ्नो स्तरबाट खोजतलास सुरु गरेका थिए। तर, आज बिहान घर नजिकै बालकको शव भेटियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख आनन्द राम शर्माले घटनास्थलमा कुकुरसहितको प्रहरी टोली पुगेको जानकारी दिएका छन्। प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाउने तयारी गरिरहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको शर्माले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar