होल्डिङ सेन्टरबाट विकल्पविना हटाए पुरानै स्थानमा बस्ने सुकुम्वासीको चेतावनी

  • कालिका खवर
  • बिहिबार, असार ११, २०८३
  • काठमाडौँ : सरकारले स्थायी व्यवस्थान नगरी होल्डिङ सेन्टरबाट हटाएमा पुरानै स्थानमा गएर बस्ने काठमाडौँका सुकुम्वासीले चेतावनी दिएका छन्। काठमाडौँको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा बसिरहेका भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी पुरानै ठाउँमा बसोबास गर्ने चेतावनी दिएका हुन्। उनीहरूले बसिरहेको ठाउँबाट हटाएको दुई महिना बितिसक्दा पनि स्थायी बसोबासका लागि कुनै विकल्प नदिएकोमा सरकारप्रति असन्तुष्टि जनाएका छन्।

    काठमाडौँका विभिन्न स्थानका सुकुम्वासी बस्तीमा बसिरहेका सुकुम्वासीलाई सरकारले गत वैशाख १२ गतेदेखि हटाउन सुरु गरेको थियो। त्यतिबेला सरकारले १५ दिन अस्थायी सेल्टरमा राखिने र त्यसपछि ६० दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने बताएको थियो।

    तर, दुई महिना बितिसक्दा स्थायी व्यवस्थापनका लागि पहल गरेको छैन। बरु असार ९ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना जारी गरेर असार १२ गतेभित्र होल्डिङ सेन्टर छोड्न भनेको छ। उनीहरूलाई २५ हजार रुपैयाँ लग्न र त्यसपछि आफै बसोबासको व्यवस्था गर्न सूचनामा उल्लेख गरिएको छ।

    त्यसलाई लिएर सुकुम्वासीले विरोध जनाएका हुन्। उनीहरू राखेको पाँच बुँदे मागमा सुकुम्वासी परिवारको लगत संकलन गर्न र प्रमाणीकरण गर्न माग गरेका छन्। त्यस्तै, जबर्जस्ती उठिबास लगाइएका परिवारलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न, स्थायी व्यवस्था नहुँदासम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा सुविधा सहित बस्ने व्यवस्था गर्न र उचित व्यवस्थापनको व्यवस्था गर्न माग गरेका छन्।

    उनीहरू आफ्ना माग पूरा नगरी विकल्पबिना होल्डिङ सेन्टरमा नहटाउन आग्रह गरेका छन्। स्थायी विकल्पबिना निकाल्न खोजिएमा पहिलेकै बसोबास स्थलमा फर्केर बस्ने उनीहरूले चेतावनी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar