काठमाडौंमा असोज अन्तिम साता मेलम्चीको पानी

  • कालिका खवर
  • सोमवार, अशोज ६, २०८२
  • काठमाडौं, ६ असोज । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ । वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिए ।

    उनले भने, “पानीको बहाब घटेको छैन । बहाब घटेपछि पानी ल्याउने तयारी छ ।” विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवर्कस पूर्ण रूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको कार्यकारी निर्देशक दासले बताएका छन् । केही दिनयता दैनिक ठूलो पानी पर्न थालेकाले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पठाउन समस्या भएको उनको भनाइ छ ।

    मेलम्चीबाट करिब १७ देखि १८ करोड लिटर पानी दैनिक काठमाडौँमा पथान्तरण गरिँदै आए पनि बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि अहिले रिबर्मा खोलाबाट दैनिक रुपमा ६ देखि ७ करोड लिटर पानी पथान्तरण गरेर काठमाडौँमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताए । उनले भने, “मेलम्चीको पानी असारमै बन्द भएको थियो । अहिले हामीले रिबर्मा खोलाको पानी वितरण गरीरहेका छौँ ।”

    विसं २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएको हो । तर, २०७८ असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पु¥याएपछि हालसम्म बाह्रैमास पानी ल्याउन सकिएको छैन ।

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको उनले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar