२५ वर्षको अस्थिरताले जेन जी निराश, परिणाममुखी पुस्ता अब नेतृत्व खोज्दैछ : वरुण चौधरी

  • कालिका खवर
  • बुधबार, पुस ३०, २०८२
  • काठमाडौं । नेपालको सबैभन्दा ठूलो व्यावसायिक घराना चौधरी ग्रुप (सीजी कर्प ग्लोबल) का प्रबन्ध निर्देशक तथा उद्योगपति वरुण चौधरीले मुलुकमा देखिएको पछिल्लो राजनीतिक असन्तोषको मूल कारण Gen Z पुस्ताको निराशा र नतिजामुखी सोच भएको बताएका छन्।

    साइनर्जिया फाउन्डेसन र हार्भर्ड क्लब अफ इन्डियाको संयुक्त आयोजनामा सम्पन्न बन्द–कक्ष रणनीतिक राउण्डटेबल छलफलमा बोल्दै चौधरीले पछिल्ला २५ वर्षमा नेपालमा करिब २० वटा सरकार परिवर्तन, गृहयुद्ध, राजतन्त्रको अन्त्य, संविधान निर्माण, भूकम्प तथा हिंसात्मक आन्दोलनले युवा पुस्तालाई गहिरो रूपमा प्रभावित पारेको बताए।

    उनका अनुसार बंगलादेशमा हालै देखिएको आन्दोलन पूर्ण रूपमा Gen Z नेतृत्वको आन्दोलन हो, जसको प्रतिध्वनि नेपालमा पनि देखिएको छ। “Gen Z कुनै विचारधारा वा नारामा बाँधिएको छैन, उनीहरू नतिजा खोज्छन्,” उनले भने।

    चौधरीले Open Border Generation को अवधारणा प्रस्तुत गर्दै सूचना, भौगोलिक, आर्थिक, सांस्कृतिक र डिजिटल सिमानाहरू अब परम्परागत रूपमा सीमित नरहेको बताए। उनका अनुसार सामाजिक सञ्जाल नै Gen Z को प्रमुख सूचना स्रोत बनेको छ। नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले राजनीतिक उथलपुथल निम्त्याएको उदाहरण रहेको उनले स्मरण गराए।
    दैनिक २ देखि ३ हजार नेपाली विदेश पलायन भइरहेको उल्लेख गर्दै उनले आर्थिक तथा श्रम सिमानाहरू व्यवहारतः खुला भइसकेको बताए।

    उनका अनुसार नेपालको सबैभन्दा ठूलो खतरा स्थायी ब्रेन ड्रेन हो। दोस्रो पुस्ता विदेशमै बसाइ सरेसँगै पैतृक सम्पत्ति बिक्री, स्वदेश फर्कने सम्भावना न्यून हुनु तथा रेमिट्यान्स घट्ने जोखिम बढ्दै गएको उनले बताए। हाल नेपालको अर्थतन्त्र करिब २० अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्समा निर्भर रहेको पनि उनले उल्लेख गरे।

    चौधरीका अनुसार युवा पुस्ताले मेरिटमा आधारित अवसर, अर्थतन्त्र बुझ्ने नेतृत्व, डिजिटल पारदर्शिता र राजनीतिक स्थिरता चाहन्छ।
    नेपाललाई उनले भारत र चीनबीचको ‘sandwich’ को संज्ञा दिँदै यस अवस्थाबाट रणनीतिक लाभ लिनुपर्ने धारणा राखे।

    कार्यक्रममा भारतीय सेनाका डाइरेक्टर जनरल अफ मिलिटरी अपरेशन्स (DGMO) लेफ्टिनेन्ट जनरल राजीव घई, भारतका पूर्व योजना आयोग उपाध्यक्ष मोन्टेक सिंह अहलुवालिया, पूर्व परराष्ट्र सचिव श्याम सरन, पूर्व उप–राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरन, पूर्व गुप्तचर प्रमुख राजीव जैन, राष्ट्रिय सुरक्षा परिषद सचिवालयका पूर्व सल्लाहकार ए. बी. माथुर, भारतीय वायुसेनाका पूर्व उपप्रमुख एयर मार्शल नागेश कपूर, फ्रान्स र मोनाकोका लागि भारतका पूर्व राजदूत जावेद अशराफ लगायतले वक्ताका रूपमा विचार राखेका थिए। कार्यक्रमको अध्यक्षता साइनर्जिया फाउन्डेसनका संस्थापक तथा अध्यक्ष टोबी साइमोनले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar