कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा पाँच प्रतीक्षालय बेन्च स्थापना

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल क्षेत्रमा सर्वसाधारण तथा यात्रुको सहजतालाई मध्यनजर गर्दै ५ थान प्रतीक्षा–बेन्च स्थापना गरेको छ।

    कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा स्थापना गरिएको उक्त प्रतीक्षा–बेन्च बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरेको हो। बेन्च स्थापनासम्बन्धी कार्यक्रममा बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यता रहेको थियो।

    दैनिक आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले प्रतीक्षा–बेन्च स्थापना गरिएको बैंकले जनाएको छ। यसबाट स्थानीय बासिन्दा तथा बाटो हिँड्ने यात्रुलाई प्रत्यक्ष सुविधा पुग्ने अपेक्षा गरिएको छ।

    कार्यक्रममा व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको उपयोगमा आउने प्रतीक्षा–बेन्च स्थापना गरेकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिए। उनले बैंकको उक्त पहलबाट यात्रु तथा स्थानीय सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गरे।

    बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले सेवाग्राहीसँगै सर्वसाधारणको सुविधा र सहजतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको बताए। स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए।

    कार्यक्रममा बैंकका कर्मचारी तथा कुमारीपाटी जावलाखेल व्यापार संघका प्रतिनिधिको उपस्थिति रहेको थियो। बैंकले ग्राहक सेवा विस्तारसँगै स्थानीय समुदाय तथा सर्वसाधारणको आवश्यकता र सुविधालाई ध्यानमा राखी विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमा समेत सहभागिता जनाउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar