युवा उद्यमीलाई व्यवसायिक सीप विकासमा जोड, बिसिसिआईको स्टार्टअप कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, असार ९, २०८३
  • वीरगंज — वीरगंज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘BiCCI Startup & Incubation Program 2026’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) को सहकार्य तथा सङ्घको स्टार्टअप एण्ड इनोभेसन कमिटीको समन्वयमा सञ्चालन गरिएको कार्यक्रम १३ दिनसम्म बिसिसिआईको सभाहलमा चलेको थियो।

    कार्यक्रमको उद्घाटन निम्बस ग्रुपका अध्यक्ष तथा उद्योगी जगदीश अग्रवालले गरेका थिए। समापन समारोह सङ्घका सहसचिव तथा स्टार्टअप एण्ड इनोभेसन कमिटीका संयोजक अनुप कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सङ्घका अध्यक्ष हरिप्रसाद गौतम प्रमुख अतिथि तथा वरिष्ठ उपाध्यक्ष माधवराज पाल र उपाध्यक्ष आशिष लाठ विशेष अतिथिका रूपमा सहभागी थिए।

    युवा उद्यमी तथा व्यवसाय सुरु गर्न इच्छुक व्यक्तिहरूको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा व्यवसाय व्यवस्थापन, वित्तीय योजना, ब्रान्डिङ, बजार विस्तार, लगानी तयारी, बैंकिङ पहुँच, कानुनी प्रक्रिया तथा सञ्चालन व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

    १३ दिने मास्टरक्लासमा विभिन्न क्षेत्रका विज्ञ तथा उद्योगीहरूले सहजीकरण गरेका थिए। कार्यक्रममा उद्यमशीलताको आधारभूत अवधारणादेखि व्यवसायिक योजना निर्माण, लेखा तथा कर प्रणाली, बजार विश्लेषण, वित्तीय साक्षरता, लगानी व्यवस्थापन, स्टार्टअप फाइनान्सिङ, उद्योग विश्लेषण तथा सञ्चालन व्यवस्थापनका विषय समेटिएका थिए।

    आयोजकका अनुसार प्रशिक्षण अवधिभर सहभागीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक व्यवहारिक ज्ञान र सीप हासिल गरेका छन्। साथै कार्यक्रमले युवा उद्यमीहरूलाई अनुभवी व्यवसायी तथा विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया र नेटवर्किङ गर्ने अवसर समेत प्रदान गरेको थियो।

    समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्दै नयाँ व्यवसाय स्थापना तथा विद्यमान व्यवसायलाई थप विस्तार गर्न सहभागीहरू सक्षम हुने विश्वास व्यक्त गरिएको छ।

    बिसिसिआईले यस्ता कार्यक्रममार्फत प्रदेश तथा देशमै उद्यमशीलता र नवप्रवर्तनको वातावरणलाई थप मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar