युवा संघको पदाधिकारी बैठक : सुदन गुरुङको नागरिकता छानबिनदेखि तीन महत्वपूर्ण निर्णय

  • कालिका खवर
  • शनिबार, कार्तिक २२, २०८२
  • काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी बैठक शनिबार काठमाडौंमा सम्पन्न भएको छ । संगठनका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

    पार्टी केन्द्रीय सदस्य तथा संगठनका इन्चार्ज राजिव पहारीको विशेष आतिथ्यतामा भएको बैठकले संगठन सुदृढीकरण, आगामी अभियान र राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै तीनवटा महत्वपूर्ण निर्णय गरेको युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।

    प्रवक्ता पौडेलका अनुसार—

    १. सुदन गुरुङको नागरिकता छानबिनको अल्टिमेटम

    युवा संघले सुदन गुरुङको नागरिकता ‘सक्कली वा नक्कली’ हो ? भन्ने विषयमा छानबिन गरी एक हप्ताभित्र सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

    उनले भने, ‘यदि सरकारले छानबिन नगरेमा युवा संघ आफैं तथ्य प्रमाण संकलन गरी प्रहरीमा बुझाउनेछ ।’

    २. अध्यक्ष ओलीको घर पुनर्निर्माण अभियान

    बैठकले हालैको जेनजी आन्दोलनका कारण क्षति पुगेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको घर पुनर्निर्माण अभियान तेह्रथुमको आठराईबाट सुरु गर्ने निर्णय गरेको छ । प्रवक्ता पौडेलका अनुसार, यो अभियान ‘पार्टी अध्यक्षप्रति एकता र सम्मानको प्रतीक’का रूपमा अघि बढाइनेछ ।

    ३. ‘जेनजी’ आन्दोलनका अराजक गतिविधिविरुद्ध कारबाही

    बैठकले आन्दोलनको नाममा देश जलाउने, राज्य सम्पत्ति नष्ट गर्ने र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । पौडेलले भने, ‘जेनजी आन्दोलनका नाममा अराजकता फैलाउनेलाई कानूनी कठघरामा ल्याइनेछ, तर राष्ट्र निर्माणका भावनायुक्त युवाहरुलाई सहकार्यमा ल्याइनेछ ।’

    बैठकमा संगठनको पुनर्संरचना, सदस्य विस्तार र आगामी युवा अभियानहरूबारे पनि छलफल गरिएको थियो ।

    युवा संघको यो निर्णयले एमालेको संगठनात्मक सक्रियता र सडक राजनीति दुबैमा नयाँ गतिशीलता ल्याउने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar