वर्षायाममा विद्युत् खपत बढाउन ५% छुटपछि मात्र VAT लागू गर्नुपर्ने मल्लको प्रस्ताव

  • कालिका खवर
  • सोमवार, साउन ११, २०८३
  • विद्युत् उपभोगमा ५% VAT सम्बन्धी निर्णयमा पुनर्विचार गर्न राजेन्द्र मल्लको सुझाव

    काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) सम्बन्धी व्यवस्थामा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।

    मल्लले वर्षायाममा विद्युत् उत्पादन प्रशस्त हुने, खपतभन्दा बढी उत्पादन खेर जाने सम्भावना रहने तथा यस अवधिमा विद्युत् खरिद सम्झौता (PPA) अनुसारको दर करिब रु. ४.८० प्रति युनिट मात्र हुने भएकाले उपभोक्तालाई राहत दिने नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

    उनका अनुसार वर्षायाममा उपभोक्तालाई सुरुमा ५ प्रतिशत छुट उपलब्ध गराएर त्यसपछि मात्र ५ प्रतिशत VAT लागू गर्ने व्यवस्था गरिए विद्युत् खपत वृद्धि हुने, अतिरिक्त ऊर्जा सदुपयोग हुने तथा स्वच्छ ऊर्जाको प्रयोगलाई थप प्रोत्साहन मिल्नेछ।

    मल्लले यस्तो व्यवस्थाले वर्षायाममा खेर जाने विद्युत्को उपयोग बढ्नुका साथै उपभोक्ताले पनि प्रत्यक्ष लाभ पाउने बताए।

    उनले सुख्खा याममा भने विद्युत् उत्पादन लागत बढी हुने र PPA दर करिब रु. ८.४० प्रति युनिट रहने भएकाले त्यस अवधिमा हाल कायम रहेको VAT सम्बन्धी व्यवस्था यथावत् राख्न सकिने सुझाव दिएका छन्।

    मल्लले मौसमअनुसार फरक नीति अवलम्बन गर्दै विद्युत् उपभोगलाई प्रोत्साहन गर्ने व्यवस्था लागू गर्न सके ऊर्जा व्यवस्थापन प्रभावकारी हुने, स्वदेशमै उत्पादन भएको स्वच्छ ऊर्जाको अधिकतम उपयोग हुने र समग्र अर्थतन्त्रलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar