त्रिपक्षीय वार्ताबाट तीनबुँदे सहमति, औषधि व्यवसाय संरक्षण समितिको आन्दोलन फिर्ता

  • कालिका खवर
  • मङ्लबार, मंसिर १६, २०८२
  • काठमाडौँ । औषधि ऐन, २०३५ को दफा ११ को उपदफा (३) संशोधन र उपदफा (५) पूर्ण रूपमा खारेजीको मागसहित २०७२/०८/०२ गतेदेखि सञ्चालन गरिएको आन्दोलन सकारात्मक परिणाममा पुगेको भन्दै राष्ट्रिय औषधी व्यवसाय संरक्षण समितिले सबै पक्षप्रति आभार व्यक्त गरेको छ। समितिले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत संघर्ष सफलतापूर्वक निष्कर्षमा पुर्‍याउन साथ दिने सबैप्रति धन्यवाद व्यक्त गरेको हो।

    समितिले राष्ट्र र जनताको हितलाई अग्रस्थानमा राख्दै सत्य, तथ्य र उत्तरदायित्वसहित पत्रकारिताको धर्म निर्वाह गर्ने मिडियाप्रति विशेष कृतज्ञता प्रकट गरेको छ। यससँगै, आगामी दिनमा पनि जनस्वास्थ्य सुरक्षासहित गुणस्तरीय औषधिको सर्वसुलभ पहुँचबारे जनचेतना अभिवृद्धिमा निरन्तर सहयोग गर्न आग्रह गरिएको छ।

    जारी विज्ञप्तिमा समितिले चारै संघअन्तर्गतका केन्द्रीय, प्रदेश तथा जिल्ला समिति, शाखा र व्यवसायी परिवारले देखाएको एकता र प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद व्यक्त गरेको छ। नेपाल आयुर्वेद औषधी व्यवसायी संघको नेतृत्वमा नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ, नेपाल औषधी व्यवसायी संघ र नेपाल औषधी आयातकर्ता संघ मिलेर गठन गरिएको समितिले स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागसँग त्रिपक्षीय वार्ता सम्पन्न भई तीनबुँदे सहमति भएको जानकारी गराएको छ।

    सहमतिको विवरण यसप्रकार छः
    १. व्यवसायीका संगठनले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा (३) संशोधन र उपदफा (५) खारेजीको माग गरेबमोजिम प्रचलित कानुनअनुसार ३० दिनभित्र आवश्यक संशोधन प्रक्रिया सहजीकरण गर्ने।

    २. व्यवसायीले पेश गरेका कानुनबाहेकका अन्य माग, जस्तै पुनःदर्ता लगायत प्रशासनिक निर्णयमार्फत समाधान हुनसक्ने विषय-औषधि व्यवस्था विभागमार्फत सहजीकरण गर्ने।

    ३. औषधी व्यवसायी संघको नेतृत्वमा गठित राष्ट्रिय औषधी व्यवसाय संरक्षण समितिले २०८२ / ०८ / १५ गतेदेखि सबै आन्दोलन कार्यक्रम फिर्ता गर्ने।

    समितिले सहमति कार्यान्वयनले औषधि व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान हुँदै जनस्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar