टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त

  • कालिका खवर
  • मङ्लबार, बैशाख ८, २०८३
  • काठमाडौं । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा लामो अनुभव संगालेका विज्ञ चिरञ्जीवी अधिकारीलाई डिजी समूहअन्तर्गतको टेकपाइला इनोभेसनमा एसोसिएट डाईरेक्टरको महत्वपूर्ण जिम्मेवारी दिइएको छ। करिब साढे दुई दशकदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय अधिकारीको यो नियुक्तिलाई नेपालको डिजिटल भविष्यसँग प्रत्यक्ष जोडिएको सकारात्मक र आशालाग्दो कदमका रूपमा हेरिएको छ।

    हाल क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा सूचना प्रविधि नीति संयोजकको भूमिकामा रहेका अधिकारीले यसअघि पनि नेपाल सरकारका विभिन्न निकायसँग सहकार्य गर्दै साइबर सुरक्षा तथा प्रविधि विकासमा उल्लेखनीय योगदान पुर्‍याइसकेका छन् । अब टेकपाइलामा उनको नेतृत्वमा कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षालाई केन्द्रमा राख्दै नयाँ सोच, नयाँ गति र नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।

    अधिकारीले नेपाललाई छिमेकी मुलुक भारत र चीनसँग डिजिटल सहकार्यको माध्यमबाट ‘डिजिटल पुल’का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अघि सारेका छन् । उनका अनुसार, प्रमाणपत्रमा मात्र सीमित नभई सीपमा आधारित दक्ष जनशक्ति उत्पादन गर्ने ‘सीप–पहिलो’ अवधारणा नै अबको आवश्यकता हो, जसले नेपाली युवालाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउनेछ ।

    टेकपाइला इनोभेसनका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले अधिकारीको आगमनले संस्थालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले प्रविधि क्षेत्रमा अनुभवी नेतृत्व भित्र्याउन पाउनु संस्थाका लागि गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा नवप्रवर्तन र डिजिटल रूपान्तरणमा टेकपाइला अझ सशक्त बन्ने बताएका छन्।

    यसैगरी, डिजी समूहका अध्यक्ष विज्ञान श्रेष्ठले सूचना प्रविधि क्षेत्रका अनुभवी विज्ञलाई संस्थामा जोड्न पाउनु भविष्यका लागि अत्यन्त सकारात्मक संकेत भएको बताए। उनका अनुसार, यस्तो नेतृत्वले संस्थाको गति मात्र होइन, समग्र सूचना प्रविधि क्षेत्रमा संस्थाको पहिचानलाई अझ उच्च बनाउने विश्वास ब्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar