सशस्त्र प्रहरी पर्साद्वारा ठूलो परिमाणको चरेश बरामद

  • कालिका खवर
  • सोमवार, अशोज १३, २०८२
  • असोज १३, पर्सा। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले अवैध लागुऔषध कारोबार नियन्त्रणतर्फ पुनः उल्लेखनीय सफलता हात पारेको छ।

    मिति २०८२ असोज १३ गते सशस्त्र प्रहरी वरिष्ठ प्रहरी नायव निरीक्षक (स.प्र.स.नि.) नितेश कुमार साह कानुको कमाण्डमा खटिएको ७ जनाको मोबाइल टोलीले छिपहरमाई गाउँपालिका–४ बन्जारी स्थित भिष्वा–जानकी टोला सडक खण्डमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा चरेश बरामद गरेको हो।

    चेकजाँचकै क्रममा BR 22 J 3550 नम्बरको होण्डा साइन मोटरसाइकलमा फल्स बटम बनाई लुकाइ छिपाइ भारततर्फ लैजाँदै गरिएको ९ किलो ५२२ ग्राम चरेश फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको चरेश १९ वटा प्लास्टिकका प्याकेटमा राखिएको अवस्थामा भेटिएको हो।

    यस घटनामा संलग्न भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोला वार्ड नं. ३७ निवासी ३१ वर्षीय गुलाम मोहमदलाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्ति सहित बरामद चरेश, आधार कार्ड र कार्बोन कम्पनीको कीप्याड मोबाईल समेत आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

    सशस्त्र प्रहरी बल, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले लागुऔषध कारोबार नियन्त्रणको अभियानलाई निरन्तर अघि बढाइने बताउँदै यस प्रकारका गतिविधिहरूमा संलग्न कसैलाई पनि कानूनले उन्मुक्ति नदिने स्पष्ट गरेका छन्।

    लागुऔषध नियन्त्रण तर्फ सशस्त्र प्रहरी बल, पर्साले देखाउँदै आएको सक्रियता र प्रतिबद्धता प्रति स्थानीयवासीले प्रशंसा गरेका छन्। यस किसिमका अभियान हरूले समाजलाई लागुऔषध मुक्त बनाउन ठुलो टेवा पुग्ने विश्वास गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar