संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

  • कालिका खवर
  • शुक्रबार, असार १२, २०८३
  • काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।

    महानिरीक्षक कार्कीले नेपाल प्रहरीका विभिन्न विभागहरू थप्ने काम भए पनि तिनलाई साधन-स्रोतले सम्पन्न बनाउनुपर्ने र कार्यरत जनशक्तिलाई सीपमूलक तालिम दिनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराए । स्थापना भइसकेका र फिल्डमा काम गर्ने युनिटहरूलाई साधन-स्रोत सम्पन्न बनाउन नसक्दा सोचे अनुरूपको परिणाम आउन नसकेको उनको भनाइ थियो । यद्यपि नेपाल प्रहरी सुरक्षित, स्वस्थ र लागुऔषधरहित समाज निर्माणमा सदैव प्रतिबद्ध रहेको उनले प्रष्ट पारे ।

    लागुऔषध नियन्त्रणका तीन प्रमुख स्तम्भ रोकथाम, नियन्त्रण र पुनःस्थापनाको क्षेत्रमा प्रहरीले निरन्तर सक्रियता, सतर्कता र प्रतिबद्धता देखाउँदै आएको उनले उल्लेख गरे । आगामी दिनमा यसलाई अझ बढी सक्रियताका साथ अघि बढाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भने, ‘नेपाल प्रहरीको लागुऔषध नियन्त्रणमा तीनवटै प्रमुख स्तम्भहरू एउटा रोकथामको स्तम्भ, अर्को नियन्त्रण र पुनःस्थापनाको क्षेत्रमा निरन्तर सक्रियता, सतर्कता र प्रतिबद्धतालाई हाम्रा क्रियाकलापहरूले प्रतिबिम्बित गरेका छन् । सुरक्षित, स्वस्थ र लागुऔषधरहित समाज निर्माणमा नेपाल प्रहरी सदैव प्रतिबद्ध रही आएको छ, आगामी दिनमा समेत यसको सक्रियता अझ बढ्दै जानेछ ।’

    उनले थपे, ‘हामीले स्थापना गरिसकेका फिल्डमा काम गर्ने युनिटहरूलाई साधन स्रोत सम्पन्न बनाउनुपर्दछ, उनीहरूलाई सीपमूलक तालिम पनि दिनुपर्दछ । हामीले संस्था चाहिँ खोल्दै जाने तर सीपमूलक तालिमको अभाव हुनु, साधन स्रोतका अभाव हुने कुराले हामीले अपेक्षित रिजल्ट प्राप्त गर्न सक्दैनौँ कि भन्नेतर्फ पनि हामीले हेर्नुपर्ने कुरातर्फ पनि मैले निवेदन गर्दछु । लागुऔषध रोकथाम तथा नियन्त्रणको क्षेत्रमा सहकार्य र साझेदारीसहितको सहभागिता प्रवर्द्धनमा केन्द्र, प्रदेश र स्थानीय सरकार लगायत सम्पूर्ण सरोकारवाला निकायहरूबीच निरन्तरको साथ, सहयोग, सहकार्य, अपरिहार्य रहेको व्यहोरा अनुरोध गर्दछु ।’

    त्यस अवसरमा प्रहरी महानिरीक्षक कार्कीले लागुऔषध दुर्व्यसनमा फसेकाहरूको उपचार र सुधारका लागि पोखरामा पनि पुनःस्थापना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar