सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ५% बोनस शेयरसहित लाभांश घोषणा

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा मंसिर १२ गते, शुक्रबार, काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड एण्ड बैंक्वेटमा सम्पन्न भएको छ। सभामा आव २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण छलफल गरी पारित गरिएको छ।

    सभाले २०८१/८२ आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४,७६९,०१२,९६६ को ५ प्रतिशतले हुने रु. ७३८,४५०,६४८.३० बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशतले हुने रु. ३८,८६५,८२३.५९ नगद लाभांशसहित कुल रु. ७७७,३१६,४७१.८९ लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बैंकले आर्थिक वर्ष ०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ भने १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ।

    अध्यक्ष पाण्डेले शेयरधनीबाट प्राप्त सुझावअनुसार बैंकको कार्यसञ्चालनलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे। उनले संस्थागत सुशासन र अनुपालनालाई उच्च प्राथमिकतामा राख्दै भविष्यमा बैंकलाई थप सुदृढ बनाइने बताए।

    बैंकले हालसालै प्राप्त गरेका उल्लेखनीय सेवाहरू र उपलब्धिहरू पनि सभामा प्रस्तुत गरियो। सिटिजन्स बैंकले ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गरेको छ भने नेपालमै पहिलोपटक फोनपेसँग सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। साथै युवालक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेविङ्ग अकाउन्ट’ जस्ता नयाँ उत्पादनहरू सुरु गरिएको छ।

    मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सीआरएन नम्बर सेवा उपलब्ध गराइएको छ भने ‘क्रस बैंक टेलर’ सुविधामार्फत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंक शाखाबाट टेलर क्युआर स्क्यान गरी नगद प्राप्त गर्नसक्ने सेवा पनि सुरु गरिएको छ।

    सिटिजन्स बैंकले ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ५६ हजारभन्दा बढी ग्राहकलाई आधुनिक तथा पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar