१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ २२, २०८३
  • काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न असम्भव नरहेको बताएका छन्। इप्पानको एक कार्यक्रममा बोल्दै उनले लक्ष्य निकै ठुलो भए पनि सकारात्मक दृष्टिकोणबाट हेरेमा यसलाई प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे। ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच घनिष्ठ सहकार्य आवश्यक रहेको उनले औँल्याएका छन्।

    १० वर्षभित्र ३० हजार मेगावाटको लक्ष्य प्राप्तिका लागि करिब ६० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने डाँगीले जानकारी दिए। जलविद्युत क्षेत्र कुनै एक वा दुई व्यक्तिले पसल वा रेस्टुरेन्ट खोलेझैँ सञ्चालन गर्ने व्यवसाय नभई सामूहिक लगानी र सहकार्यमा आधारित क्षेत्र भएकाले आवश्यक लगानी जुटाउन सम्भव रहेको उनको भनाइ छ। हालसम्म साना तथा मध्यम क्षमताका आयोजनाहरूको योगदानबाट निजी क्षेत्रले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै उनले सरकारले पूर्वाधार, नीतिगत सहजीकरण र लगानीका लागि उचित वातावरण बनाइदिन जरुरी रहेको बताए।

    देशको ऊर्जा अवस्थाबारे तथ्याङ्क प्रस्तुत गर्दै डाँगीले हाल देशमा करिब ४ हजार ३०० मेगावाट विद्युत् उत्पादन भइसकेको र ५ हजार ७०० मेगावाट निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए। यी दुवैलाई जोड्दा झन्डै १० हजार मेगावाट क्षमता सुनिश्चित भइसकेको छ। अबको १० वर्षमा थप २० हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्ने चुनौती बाँकी रहन्छ। डाँगीले भने, ‘मलाई लाग्छ, हाल सेयर बजारमा सूचीकृत रहेका ९९ कम्पनीमध्ये ४० वटा कम्पनीले मात्र आगामी १० वर्षमा औसत ५००–५०० मेगावाटका आयोजना निर्माण गर्न सके भने २० हजार मेगावाट थप उत्पादन गर्न सकिन्छ । त्यसैले यो लक्ष्य असम्भव वा धेरै टाढाको लक्ष्य होइन ।’

    अहिले झन्डै २ सय मेगावाटभन्दा कम तथा मध्यम क्षमताका आयोजनाहरू मिलेर निजी क्षेत्रले ३ हजार ५०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन गरिसकेको उनले स्पष्ट पारे। इप्पान सरकारसँग हातेमालो गर्दै ऊर्जा क्षेत्रको विकास र उत्पादन वृद्धि अभियानमा सक्रिय रूपमा सहकार्य गर्न प्रतिबद्ध रहेको समेत वरिष्ठ उपाध्यक्ष डाँगीले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar