सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

  • कालिका खवर
  • सोमवार, साउन १८, २०८३
  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूको कार्यसम्पादनको सम्मानस्वरूप आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम शनिबार (२०८३ साउन १६) काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भव्य रूपमा सम्पन्न गरेको छ।

    एक हजारभन्दा बढी सहभागीको उपस्थितिमा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा छनोट भएका सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरू सहभागी भएका थिए। कार्यक्रमभर सम्मान, उत्साह, प्रेरणा र सफलताको वातावरण देखिएको कम्पनीले जनाएको छ।

    कार्यक्रमको औपचारिक उद्घाटनसँगै कम्पनीले नयाँ आई–सोलुसन प्रणाली ‘Version Next’ सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्यहरू तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा प्रणालीको शुभारम्भ गर्दै कम्पनीको डिजिटल रूपान्तरणतर्फ नयाँ यात्राको घोषणा गरेका हुन्।

    कम्पनीका अनुसार आधुनिक प्रविधिमा आधारित ‘Version Next’ ले बीमा सेवालाई थप प्रभावकारी, छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउनेछ। यसले सिटिजन लाइफलाई प्रविधिमैत्री, नवप्रवर्तनमुखी तथा भविष्य उन्मुख संस्थाका रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    कार्यक्रमको अर्को आकर्षणका रूपमा ह्युमानोइड रोबोट र रोबोटिक डग प्रस्तुत गरिएको थियो। ह्युमानोइड रोबोटले प्रेरणादायी तथा सूचनामूलक सन्देशसँगै हास्यरस मिश्रित प्रस्तुति दिँदा सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो।

    हास्य कलाकार सुन्दर खनालको मनोरञ्जनात्मक प्रस्तुति तथा कम्पनीका ब्राण्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत (CEO) पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत (CMO) भूषण रिमालले कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास र उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन सबैलाई प्रेरित गरेका थिए। उनीहरूले सिटिजन लाइफलाई अझ सशक्त, दिगो र परिणाममुखी संस्थाका रूपमा विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताए।

    यस अवसरमा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

    सम्मानितमध्ये बुटवल शाखाले प्रथम बीमा शुल्क संकलनतर्फ देशकै उत्कृष्ट शाखाको उपाधि प्राप्त गर्यो। भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर, नितेश श्रेष्ठ उत्कृष्ट Citizen Leader, गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता तथा दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने व्यक्तिका रूपमा प्रथम घोषित भए।

    कार्यक्रममा सांगीतिक तथा नृत्य प्रस्तुतिहरूले थप रौनकता प्रदान गरेका थिए। सहभागीहरूले सम्मान, मनोरञ्जन, प्रेरणा र आधुनिक प्रविधिको संयोजन अनुभव गरेको कम्पनीले जनाएको छ।

    सिटिजन लाइफले यस्ता सम्मान कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडरहरूलाई थप उत्प्रेरित गर्दै बीमा सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा संस्थागत उत्कृष्टतालाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar