शुक्रबारदेखि नेपालमा पनि ‘बाहुबली एपिक’, दोहोरिएला पुरानो क्रेज ?

  • कालिका खवर
  • बिहिबार, कार्तिक १३, २०८२
  • काठमाडौँ । विश्वभरका दर्शकलाई चकित पारेको भारतीय ब्लकबस्टर चलचित्र ‘बाहुबली’ फेरि एकपटक नयाँ शैलीमा फर्किन लागेको छ। सन् २०१५ र २०१७ मा क्रमशः प्रदर्शन भएका ‘बाहुबली : द बिगिनिङ’ र ‘बाहुबली : द कन्क्लुजन’ लाई नयाँ सम्पादन, रङ्ग सुधार र केही थप दृश्यसहित पुनः एकीकृत रूपमा ‘बाहुबली एपिक’ शीर्षकमा आगामी शुक्रबारदेखि नेपालमा पनि प्रदर्शन गर्न लागिएको हो।

    चलचित्रको यो संस्करण ३ घण्टा ४४ मिनेट लामो छ र यसमा दुवै भागका प्रमुख दृश्यहरू आकर्षक ढङ्गले प्रस्तुत गरिएका छन्। रि–रिलिजको तयारीकै क्रममा विश्वभर उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। एडभान्स बुकिङमार्फत १० करोडभन्दा बढी भारतीय रूपैयाँ कमाइ भइसकेको ट्रेड रिपोर्टहरू बताउँछन्। यो उपलब्धिले ‘बाहुबली एपिक’ लाई रि–रिलिजमै अग्रिम टिकट बिक्रीबाट सर्वाधिक कमाइ गर्ने पहिलो भारतीय चलचित्रको उपाधि दिलाएको छ।

    ट्रेड वेबसाइट साकनिकका अनुसार ‘बाहुबली एपिक’ रि–रिलिज भएका चलचित्रमध्ये एक सय करोड रूपैयाँभन्दा बढी कमाउने पहिलो भारतीय चलचित्र बन्न सक्ने अनुमान गरिएको छ। नेपालमा पनि यसप्रति दर्शकको रुचि उल्लेखनीय देखिएको छ। सन् २०१५ मा जम्मा ८ लाखमा नेपाल भित्रिएको पहिलो भागले ५ करोडभन्दा बढी व्यापार गरेको थियो। त्यसको दुई वर्षपछि आएको दोस्रो भागले भने केवल दुई सातामै १८ करोडको व्यापार गरेको वितरकका आँकडा छन्।

    नेपालमा शुक्रबारदेखि प्रदर्शन हुन लागेको यो रि–रिलिजप्रति पनि दर्शकको उत्साह तीव्र रहेको वितरकले जनाएका छन्। बुधबार साँझदेखि खुलेको बुकिङमा ठूलो चाप देखिएको र धेरै हलहरूमा अग्रिम टिकटहरू पहिले नै बिक्री भइसकेका छन्। अब हेर्न बाँकी छ  ‘बाहुबली’को पुरानो क्रेज फेरि दोहोरिन्छ कि नयाँ रेकर्ड नै बनाउँछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar