मोतिराजलाई सर्वोत्कृष्ट भजन गायकको उपाधि

  • कालिका खवर
  • बुधबार, भदौ ३१, २०८३
  • काठमाडौं । ओप्सना फिल्म्सको आयोजनामा आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डमा ‘तेश्रो राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा लोकप्रिय गायक मोतिराज खनालले यस वर्षको सर्वोत्कृष्ट भजन गायकको उपाधि जितेका छन्।

    ‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ नाराका साथ आयोजना भएको कार्यक्रममा जनमतसहित गीत-सङ्गीत र चलचित्र क्षेत्रका २४ वटा विधामा अवार्ड वितरण गरियो। कार्यक्रममा विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार वुद्धवीर लामालाई ‘जीवन साधना सम्मान’ प्रदान गरियो। त्यसैगरी, आनन्द कार्की र प्रदीपराज पाण्डेले ‘विशिष्ट गायन रत्न सम्मान’ पाए। समारोहमा निखिल उप्रेती, सञ्चिता लुइँटेल, पूजना प्रधान गुरुङलगायत अन्य स्रष्टा तथा कलाकारलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो।

    अवार्डतर्फ सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत ‘यो देशले तिम्रो’ बन्यो भने सर्वोत्कृष्ट पप गायिका तपस्या राई, लोक गायक सोम गुरुङ र सङ्गीतकारको अवार्ड सुरेश राईले जिते। जनमततर्फ सर्वोत्कृष्ट युगल गायकको अवार्ड बबिना किराँती र सुमन राईले हात पारे।

    संस्थाका निर्देशक ओम प्रकाश राईको सभापतित्व र वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। कार्यक्रमको निर्णायक मण्डलमा राजु सिंह, अशोक लोहोरुङ राई, उदय सुब्बा र दिवाकर भण्डारी थिए। सेसेमी लिम्बूले सञ्चालन गरेको कार्यक्रममा अतिथिको स्वागत पेमा शेर्पा राईले गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar