भक्तपुरमा हुने ‘म्युजिक जात्रा–ख्वपः’मा पहिलो पटक गुन्जिँदै ‘कुमा सागर’, फ्री इन्ट्री सँगै ५०% च्यारिटी

  • कालिका खवर
  • बुधबार, अशोज १४, २०८३
  • भक्तपुर । भक्तपुरमा पहिलो पटक ठुलो स्तरको च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना हुने भएको छ। आज क्लब बागमतीमा आयोजित पत्रकार सम्मेलन मार्फत मङ्सिर १२,२०८३ मा भक्तपुरको सल्लाघारी मैदानमा उक्त कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

    कार्यक्रमको मुख्य आकर्षणको रूपमा कुमा सागर एण्ड द ख्वपः ब्याण्ड रहेका छन् । भक्तपुरको माटोमा जन्मिएर विश्वभर रहेका नेपाली माझ चर्चित कुमा सागर एण्ड द ख्वपः ब्याण्डले भक्तपुर मै पहिलो पटक प्रस्तुति दिन लागेका हुन्। कुमा सागरसँगै कार्यक्रममा ‘मुक्ति एण्ड रिभाइभल’ तथा ‘निभाः डंगोल एण्ड चबाही दबु’ले प्रस्तुति दिनेछन्। विशेषगरी कुमा सागर एण्ड द ख्वपः ब्याण्डको प्रस्तुति भक्तपुरको सांस्कृतिक र सांगीतिक पहिचानसँग जोडिएको विशेष अवसरका रूपमा हेरिएको छ। कार्यक्रमलाई लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्त रुपमा आयोजना गर्न लागेको हो।

    सङ्गीतसँगै भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको जात्रामा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारका लाइभ साङ्गीतिक प्रस्तुति, खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टललगायतका गतिविधि रहने आयोजकले जनाएको छ।

    ‘म्युजिक जात्रा–ख्वपः’को मुख्य प्रायोजकको रुपमा ‘एक्सट्रीम एनर्जी ड्रिंक’ रहेको छ । कार्यक्रम हेर्न दर्शकले ‘एक्सट्रीम एनर्जी ड्रिंक’को खाली क्यान मात्र ल्याए पुग्ने आयोजकले जनाएको छ ।
    ‘म्युजिक जात्रा–ख्वपः’लाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उद्देश्यसहित आयोजना गर्न लागिएको छ। कार्यक्रमबाट उठेको रकमको ५० प्रतिशत व्यावसायिक आम्दानी अर्थात् प्रायोजन तथा स्टल भाडाबाट प्राप्त रकम भक्तपुरको समुदायमा आधारित पुनर्स्थापना संस्था (सीबीआरओ)लाई प्रदान गरिनेछ। यसका साथै कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकमसमेत CBRO लाई प्रदान गरिने आयोजकले जनाएको छ ।

    ‘म्युजिक जात्रा–ख्वपः’ ले भक्तपुरको कला, संस्कृति र सङ्गीतलाई उत्सवका रूपमा प्रस्तुत गर्नुका साथै सामाजिक सहयोगमार्फत समुदायसँग जोडिने प्रयास गर्ने आयोजकको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar