शिखर इन्स्योरेन्सको बीमाशुल्क १० प्रतिशत बढ्दा नाफा भने ७१ प्रतिशत घट्यो

  • कालिका खवर
  • शनिबार, साउन ३०, २०८३
  • काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको बीमा व्यवसाय विस्तार भए पनि खर्च बढ्दा खुद नाफामा भने उल्लेख्य गिरावट आएको छ।

    समीक्षा अवधिमा कम्पनीले ६ अर्ब २१ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ रहेको यस्तो आम्दानी १०.३२ प्रतिशतले बढेको हो।

    त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १०.७९ प्रतिशतले बढेर १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    व्यवसाय विस्तारसँगै कम्पनीको पुनर्बीमा खर्च पनि बढेको छ। समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले ४ अर्ब २५ करोड ६२ लाख रुपैयाँ पुनर्बीमा खर्च गरेको छ। अघिल्लो वर्ष यस्तो खर्च ३ अर्ब ८६ करोड २७ लाख रुपैयाँ रहेको थियो।

    बीमाशुल्क आर्जनमा वृद्धि भए पनि पुनर्बीमा तथा अन्य खर्च र वित्तीय दायित्व बढ्दा कम्पनीको नाफामा प्रतिकूल असर परेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीले १३ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४५ करोड २० लाख रुपैयाँ रहेको थियो। यसअनुसार एक वर्षमा कम्पनीको नाफामा करिब ७१ प्रतिशतको गिरावट आएको छ।

    ३ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा समीक्षा अवधिमा १ अर्ब ९८ करोड २६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, महाविपत्ति कोषमा १६ करोड ७६ लाख, रिटेन्ड अर्निङमा ७ करोड ९८ लाख र अन्य इक्विटीमा ६२ करोड १६ लाख रुपैयाँ कायम रहेको छ।

    अघिल्लो आर्थिक वर्षमा कम्पनीको विशेष जगेडा १ अर्ब ९१ करोड ७६ लाख, महाविपत्ति कोष १६ करोड ११ लाख, रिटेन्ड अर्निङ २१ करोड ४ लाख तथा अन्य इक्विटी ५९ करोड ८३ लाख रुपैयाँ रहेको थियो।

    कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १९ पैसा कायम भएको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ९५ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।

    समग्रमा, शिखर इन्स्योरेन्सको बीमा व्यवसाय र बीमाशुल्क आर्जनमा दोहोरो अंकको वृद्धि भए पनि पुनर्बीमा तथा अन्य खर्च बढ्दा व्यवसाय विस्तारको तुलनामा नाफा कमजोर बनेको देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar