श्री माध्यामिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • आइतवार, पुस १३, २०८२
  • चितवन । कालिका नगरपालिका–२ स्थित श्री माध्यामिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चोया डिजिटल सोलुसन प्रा.लि.को आयोजनामा तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम चलचित्र विकास बोर्ड–काठमाडौं र कालिका नगरपालिका–चितवनको सहकार्यमा २०८२ पुस १३ गते सम्पन्न भएको हो।

    कार्यक्रममा विद्यालयका करिब १५० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। चलचित्रप्रति विद्यार्थीहरूमा सचेतना, आलोचनात्मक दृष्टिकोण र सिर्जनात्मक सोच विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
    कार्यक्रममा कालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता लक्ष्मण पौडेल, चोया डिजिटल सोलुसनका अध्यक्ष राजकुमार सिलवाल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, श्री माध्यामिक विद्यालय सहपुरका प्रधानाध्यापक प्रेम अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर गुरुङ, वडा सदस्य चित्रबहादुर भण्डारी, चलचित्र निर्देशक अमरदीप सापकोटा, पत्रकार प्रबिन किराँती र पत्रकार प्रेम पौडेलको विशेष उपस्थिति रहेको थियो। साथै शिक्षक–शिक्षिकाको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तथा नगर प्रवक्ता लक्ष्मण पौडेलले चलचित्र शिक्षा आजको डिजिटल युगमा अत्यन्तै आवश्यक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको सिर्जनशीलता र सामाजिक चेतनामा सकारात्मक प्रभाव पार्ने बताए।

    चोया डिजिटल सोलुसनका अध्यक्ष राजकुमार सिलवालले विद्यालय तहबाटै चलचित्र साक्षरता आवश्यक रहेको बताउँदै भविष्यमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्ने योजना रहेको जानकारी दिए।
    चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटाले चलचित्रलाई केवल मनोरञ्जनका रूपमा नभई शिक्षा र समाज परिवर्तनको सशक्त माध्यमका रूपमा बुझ्न विद्यार्थीलाई आग्रह गरे।
    विद्यालयका प्रधानाध्यापक प्रेम अधिकारीले विद्यालयमा यस्ता ज्ञानमूलक र व्यवहारिक कार्यक्रम आयोजना भएकोमा खुशी व्यक्त गर्दै आयोजक तथा सहयोगी निकायलाई धन्यवाद दिए। त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर गुरुङले कार्यक्रमले विद्यार्थीको दृष्टिकोण फराकिलो बनाउने विश्वास व्यक्त गरे।

    चलचित्र साक्षरता कार्यक्रमले विद्यार्थीहरूलाई चलचित्र बुझ्ने, विश्लेषण गर्ने र सिर्जनात्मक रूपमा प्रयोग गर्ने सीप विकास गर्न सहयोग पुर्‍याएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar