सांसदको विद्युतीय हाजिरीका लागि बायोमेट्रिक विवरण संकलन सुरु

  • कालिका खवर
  • बिहिबार, बैशाख २४, २०८३
  • काठमाडौँ : संघीय संसद् सचिवालयले सांसदहरूको उपस्थितिलाई विद्युतीय प्रणालीमार्फत अभिलेखीकरण गर्ने तयारीस्वरूप बायोमेट्रिक विवरण संकलन कार्य प्रारम्भ गरेको छ ।

    प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकमा उपस्थितिको हाजिरी डिजिटल माध्यमबाट व्यवस्थापन गर्ने उद्देश्यले बिहीबारदेखि उक्त प्रक्रिया सुरु गरिएको सचिवालयले जनाएको छ ।

    हालसम्म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति तथा विधायन व्यवस्थापन समितिमा आबद्ध सांसदहरूको बायोमेट्रिक विवरण संकलन सम्पन्न भइसकेको छ ।

    त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा कानून, न्याय तथा मानव अधिकार समितिका सदस्यहरूको विवरण संकलन प्रक्रिया जारी रहेको सचिवालयले उल्लेख गरेको छ ।

    सचिवालयका अनुसार शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, महिला तथा सामाजिक मामिला समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूको बायोमेट्रिक विवरण लिने कार्यतालिका तय गरिएको छ ।

    यस्तै, वैशाख २८ गते सार्वजनिक लेखा समिति तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरूको विवरण संकलन गरिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar