रसुवा बाढीबाट निजी क्षेत्रमा परेको क्षतिबारे विश्व बैंकको चासो

  • कालिका खवर
  • मङ्लबार, भदौ २३, २०८३
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच भेटवार्ता भएको छ। महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा रसुवामा हालै आएको विनाशकारी बाढीबाट भएको क्षति, निजी क्षेत्रले भोग्नुपरेका समस्या तथा यसले नेपालको समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे छलफल भएको हो।

    भेटमा अध्यक्ष श्रेष्ठले बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्रै नभई यसले नेपालको आर्थिक गतिविधिमा पार्न सक्ने व्यापक प्रभावलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो।

    सरकारको प्रारम्भिक मूल्यांकनअनुसार बाढीबाट करिब रु. ३८७.५ अर्ब बराबरको आर्थिक क्षति तथा नोक्सानी भएको उल्लेख गर्दै श्रेष्ठले पूर्ण क्षतिको विवरण संकलन तथा मूल्यांकनको क्रममा रहेको जानकारी दिनुभयो।

    “स्थानीय उद्योग वाणिज्य संघहरूको सहयोगमा क्षतिको विवरण संकलन गरिरहेका छौं। तर बाढीबाट सिंगो शहर तथा बस्तीहरू बगेको अवस्थामा यथार्थ विवरण संकलनमा समस्या भइरहेको छ,” उहाँले भन्नुभयो।

    विश्व बैंकका देशीय अर्थशास्त्री मिजियावाले बाढीबाट निजी क्षेत्रमा परेको वास्तविक क्षति, उद्योग–व्यवसाय सञ्चालनमा आएको अवरोध, आपूर्ति शृङ्खला, यातायात तथा व्यापारमा परेको असरबारे जानकारी लिनुभएको थियो। उहाँले उद्योग, पर्यटन तथा साना तथा मझौला उद्यममा परेको प्रभावबारे समेत चासो राख्नुभएको थियो।

    मिजियावाले बाढीबाट भएको क्षतिको यथार्थ विवरण, व्यवसायमा परेको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव र पुनःस्थापनाको अवस्थाबारे थप तथ्यांक आवश्यक रहेको बताउनुभयो। विस्तृत विवरण र त्यसले आर्थिक गतिविधिमा पारेको प्रभावको विश्लेषणपछि मात्रै बाढीले नेपालको आर्थिक वृद्धिमा पार्ने समग्र असरबारे स्पष्ट निष्कर्षमा पुग्न सकिने उहाँको धारणा थियो।

    छलफलमा विश्व बैंकका प्रतिनिधिहरूले विपद्का कारण निजी क्षेत्र तथा आम नागरिकले भोग्नुपरेको कठिनाइप्रति सहानुभूति व्यक्त गर्दै प्रभावित व्यवसाय तथा समुदायको पुनःस्थापना र आर्थिक गतिविधिको पुनरुत्थानका लागि सहयोग तथा सहकार्यका विषयमा समेत चासो व्यक्त गरेका थिए।

    अध्यक्ष श्रेष्ठले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा बाढीबाट ठूलो क्षति भएको जानकारी दिँदै जलविद्युत् आयोजना, प्रसारण पूर्वाधार, सडक, पुल, घर तथा व्यावसायिक सम्पत्तिमा गम्भीर असर परेको बताउनुभयो।

    उहाँका अनुसार निजी क्षेत्रका लागि भौतिक संरचनाको क्षतिसँगै आपूर्ति शृङ्खला, यातायात, विद्युत्, बजार पहुँच तथा व्यापारमा आएको अवरोध ठूलो चुनौती बनेको छ।

    विशेषगरी रसुवागढी व्यापारिक करिडोरमा आएको अवरोधले चीनसँगको व्यापार तथा देशभरको आपूर्ति व्यवस्थामा असर पार्न सक्ने श्रेष्ठले बताउनुभयो। यसको प्रभाव प्रभावित क्षेत्रबाहिर रहेका आयातकर्ता, व्यापारी, ढुवानी व्यवसायी तथा उपभोक्तासम्म पर्न सक्ने उहाँको भनाइ थियो।

    भेटवार्तामा नेपाल विकास अपडेट–२०२६ का विषयमा समेत छलफल भएको थियो। विश्व बैंकका प्रतिनिधिहरूले निजी क्षेत्रको अनुभव तथा प्रत्यक्ष तथ्यांक नेपाल विकास अपडेटका लागि महत्वपूर्ण हुने भन्दै आगामी दिनमा व्यवसायिक क्षेत्रबाट प्राप्त विवरण र सुझावलाई अध्ययनमा समेट्ने बताएका थिए।

    अध्यक्ष श्रेष्ठले नेपाल विकास अपडेट–२०२६ मा बाढीबाट भएको भौतिक क्षतिसँगै उत्पादन, रोजगारी, आम्दानी, व्यापार, लगानी, ऋण तथा निजी क्षेत्रको व्यावसायिक मनोबलमा परेको प्रभावलाई समेत समेटेर अध्ययन गर्न आग्रह गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar