राइनास नगरपालिकाका करार कर्मचारी नागरिक पेन्सन योजनामा आबद्ध हुने

  • कालिका खवर
  • सोमवार, साउन ११, २०८३
  • काठमाडौं। नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालनसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सोमबार आयोजित कार्यक्रममा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    सम्झौताअनुसार राइनास नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ। योजनाअन्तर्गत नगरपालिकाले प्रतिकर्मचारी मासिक दुई हजार पाँच सय रुपैयाँ र कर्मचारीले पनि सोही बराबरको योगदान गर्नेछन्। यसरी प्रतिकर्मचारी मासिक पाँच हजार रुपैयाँ नागरिक लगानी कोषमा जम्मा हुनेछ।

    कोषका अनुसार योजनामा सहभागी कर्मचारीले प्रचलित नियमअनुसार एकमुष्ट रकम लिन वा ६० वर्ष उमेर पूरा भएपछि मासिक पेन्सन सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। पेन्सन सुविधा लिन सुरु गरिसकेपछि सहभागीको मृत्यु वा बेपत्ता भएको अवस्थामा नियमानुसार पति वा पत्नीले उक्त सुविधा पाउनेछन्। दुवैको मृत्यु भएमा खातामा बाँकी रहेको रकम कानुनी हकवालालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ।

    सम्झौताअनुसार योजनामा सहभागी कर्मचारीको विवरण, केवाईसी तथा व्यक्तिगत खातासम्बन्धी अभिलेख नगरपालिकाले अद्यावधिक गरी नागरिक लगानी कोषलाई उपलब्ध गराउनुपर्नेछ। साथै, कर्मचारीको रोजगारी समाप्त भएमा वा नगरपालिकाले योगदान रकम जम्मा गर्न बन्द गरेमा सम्बन्धित व्यक्तिले आफ्नो खाता सञ्चालन गर्न वा खातामा रहेको बाँकी रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको कोषले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar