पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

  • कालिका खवर
  • सोमवार, असार १५, २०८३
  • काठमाडौँ : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । शपथपछि अर्थमन्त्री डा.वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिए ।

    कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उनले अध्यक्ष भट्टलाई निर्देशन दिए ।

    लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि उनको भनाइ छ ।

    ‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्,’ अर्थमन्त्री डा.वाग्लेले भने, ‘म साथमा छु । सरकारले सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।’

    अर्थमन्त्री डा. वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए ।

    बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए ।

    उनले बोर्ड अध्यक्ष भट्टलाई धेरै बोलेर नभई कामले प्रमाणित गर्न पनि बताए ।

    ‘पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा कन्फिडेन्स बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,’ अर्थमन्त्रीले भने, ‘मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन । धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।’

    कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीज्यूको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए ।

    पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar