पर्सा–१ बाट प्रदीप यादवको उम्मेदवारी दर्ता, मधेशको अधिकार र विकासका लागि प्रतिबद्धता

  • कालिका खवर
  • मङ्लबार, माघ ६, २०८२
  • वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदीप यादवले आगामी प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।

    उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले आफू मधेशको छोरा भएको उल्लेख गर्दै मधेश र मधेशीको अधिकार, विकास र सम्मानका लागि निरन्तर संघर्षरत रहेको बताए। “म जुनसुकै पार्टीमा भए पनि जनताको भलो र मधेशको हितका लागि काम गर्ने मेरो प्रतिबद्धता अडिग छ। म जय मधेश, लाल सलाम भन्छु,” उनले भने।

    आफ्नो राजनीतिक यात्रा सम्झँदै यादवले संसद्मा मधेशका प्रमुख मुद्दा उठाएको, शिक्षा, स्वास्थ्य, सडक–पुल निर्माण, नारायणी र सिर्सिया नदी सरसफाइ, साथै मन्दिर–मस्जिद र सामुदायिक विकासका परियोजनामा सक्रिय भूमिका खेलेको बताए। “धेरै काम सम्पन्न भएका छन्, तर अझै धेरै गर्न बाँकी छ,” उनले थपे।

    यादवले मधेशी युवा र स्थानीय जनतालाई सशक्त बनाउने, क्षेत्रीय विकासका योजना अघि बढाउने र मधेशको गौरव संसद्मा पुनःस्थापित गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताए। “यो केवल चुनाव होइन, मधेशको भविष्यका लागि अभियान हो,” उनको भनाइ थियो।

    विश्लेषकहरूले यादवको उम्मेदवारीलाई मधेशी नेतृत्व र स्थानीय विकासका दृष्टिले सकारात्मक र प्रेरणादायी संकेतका रूपमा मूल्यांकन गरेका छन्। समर्थकहरूका अनुसार उनको अनुभव र सक्रियताले पर्सा–१ मा मधेशी अधिकार र विकासका मुद्दा अझ बलियो बन्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar