पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा, पूर्ण थ्री–एस सुविधा उपलब्ध

  • कालिका खवर
  • आइतवार, साउन २४, २०८३
  • काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको पूर्ण थ्री–एस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा उपलब्ध भएको हो।

    नयाँ सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन्। गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकलाई सहज, भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको साइमेक्स इंकले जनाएको छ।

    यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा लिँदै आएका थिए। अब भने ग्राहकले बीवाईडीकै आधिकारिक सेवा सञ्जालमार्फत अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा प्राप्त गर्नेछन्।

    साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले सवारी बिक्री ग्राहकसँगको सम्बन्धको सुरुवात मात्र भएको बताए। उनले ग्राहकको सम्पूर्ण स्वामित्व अवधिभर उत्कृष्ट बिक्रीपछिको सेवा उपलब्ध गराउनु कम्पनीको प्रमुख प्रतिबद्धता रहेको उल्लेख गरे।

    करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको नयाँ सर्भिस सेन्टर विशेषगरी विद्युतीय सवारीसाधनको मर्मत तथा सेवाका आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ। सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीका लागि विशेष कार्यक्षेत्र, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स स्टोरेज तथा डेडिकेटेड भेइकल वासिङ बेको सुविधा रहेको छ।

    सर्भिस सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्छ। यसबाट ग्राहकको प्रतीक्षा समय घट्नुका साथै सवारी मर्मत तथा बिक्रीपछिको सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    ग्राहकले यहाँ नियमित मर्मत, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस र जेन्युइन स्पेयर पार्ट्सलगायतका सेवा प्राप्त गर्न सक्नेछन्। साथै, डेडिकेटेड सर्भिस एडभाइजर तथा सीआरएम टोलीमार्फत ग्राहक सेवा पनि उपलब्ध हुने बताइएको छ।

    नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुलाई कम्पनीको बिक्रीपछिको सेवा सञ्जाल विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। बीवाईडीले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ पुस्ताका विद्युतीय सवारी सार्वजनिक गर्ने तयारी गरिरहँदा बिक्रीपछिको सेवा पूर्वाधार विस्तारलाई समेत प्राथमिकता दिएको देखिन्छ।

    पोखरामा पूर्ण थ्री–एस सुविधा सञ्चालनमा आएसँगै गण्डकी प्रदेश तथा आसपासका बीवाईडी ग्राहकले सवारी खरिददेखि बिक्रीपछिको सेवा र स्पेयर पार्ट्ससम्म एउटै आधिकारिक सञ्जालबाट सुविधा प्राप्त गर्ने भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar