फोर्डपछि चुनौतीमा परेको जिओ अटोमोबाइल्स ईभीमार्फत पुनः उकासिने प्रयासमा

  • कालिका खवर
  • बुधबार, असार ३१, २०८३
  • काठमाडौं । गोल्छा अर्गनाइजेशनअन्तर्गत नेपालमा फोर्ड, एमजी र काइयी ब्रान्डको आधिकारिक वितरक जिओ अटोमोबाइल्स प्रालिले पछिल्ला वर्षमा व्यापारमा गिरावट भोगे पनि कम्पनीको वित्तीय अवस्था भने अझै सन्तोषजनक रहेको देखिएको छ। इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जालाई ‘LBB’ र अल्पकालीन कर्जालाई ‘A4’ रेटिङ दिँदै कम्पनीको पुँजी संरचना र ऋण तिर्ने क्षमालाई सुरक्षित मानेको छ।

    सन् २०२१ मा भारतमा फोर्डको उत्पादन बन्द भएपछि कम्पनीको कारोबारमा ठूलो असर परेको थियो। त्यसयता एमजी, काइयी, म्याक्सस र लिपमोटरजस्ता नयाँ ब्रान्ड थपिए पनि अपेक्षित व्यापार हुन सकेको छैन। आर्थिक वर्ष २०२२ मा १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी कारोबार गरेको कम्पनीको आम्दानी आर्थिक वर्ष २०२५ मा झरेर ७९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ।

    व्यापारसँगै सञ्चालन नाफा पनि लगातार ऋणात्मक रहेको छ। आर्थिक वर्ष २०२५ मा सञ्चालन नाफा करिब ६ प्रतिशत ऋणात्मक रहँदा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पनि करिब ५ प्रतिशत ऋणात्मक रहेको छ। यद्यपि, भारतमा एसेम्बल भएका एमजीका नयाँ विद्युतीय मोडल विन्डसर र कमेट बजारमा आएपछि आगामी दिनमा सुधार आउने अपेक्षा गरिएको छ।

    कम्पनीको ऋण तिर्ने क्षमता भने अझै सुरक्षित रहेको मूल्याङ्कन गरिएको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ऋण सेवा भुक्तानी क्षमता (DSCR) १.४ गुणा रहेको छ। यद्यपि, यो क्षमता मुख्यतः फोर्ड इन्डियाबाट प्राप्त हुँदै आएको ब्रान्ड संरक्षण शुल्क, लाभांश तथा घरभाडा आम्दानीका कारण सम्भव भएको हो। उक्त शुल्क आगामी आर्थिक वर्षपछि बन्द हुने भएकाले कम्पनीले सञ्चालन आम्दानी बढाउनुपर्ने चुनौती थपिएको छ।

    कर्जा परिचालन अनुपात ०.४ गुणा र नेटवर्थको तुलनामा बाह्य दायित्व ०.७ गुणा मात्रै रहेकाले कम्पनीको पुँजी संरचना अझै बलियो मानिएको छ। साथै, थप करिब १७ करोड ७० लाख रुपैयाँ बराबर कर्जा उपयोग गर्ने क्षमता रहेकाले तत्काल तरलता संकटको जोखिम कम रहेको विश्लेषण गरिएको छ।

    विश्लेषकहरूका अनुसार कम्पनीको आगामी सफलता विद्युतीय सवारी बजारमा निर्भर रहनेछ। एमजी र काइयीका नयाँ ईभी मोडलप्रति बढ्दो बजार मागलाई अवसरका रूपमा उपयोग गर्न सके कम्पनीले पुनः व्यापार विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar