पाल्पा सिमेन्ट इन्डष्ट्रिजको आईपीओ पुस २५ देखि

  • कालिका खवर
  • बिहिबार, पुस १७, २०८२
  • काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गर्न लागेको हो ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ) निष्कासनका लागि अनुमति पाएको थियो । सो स्वीकृतिअनुसार पहिलो चरणमा जारी शेयरमध्ये आयोजना प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गरिनेछ । यसको कुल रकम १८ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

    यसैगरी, बाँकी ५६ लाख २५ हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीका लागि छुट्टाइएको शेयर सम्पूर्ण बिक्री नभएमा सो बराबरको शेयर समायोजन गरी सर्वसाधारणमा निष्कासन गरिने पनि कम्पनीको भनाइ छ ।

    आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar