प्रेस चौतारीका पूर्वअध्यक्ष अर्याल एमाले केन्द्रीय सदस्यमा उठ्ने

  • कालिका खवर
  • शुक्रबार, मंसिर २६, २०८२
  • काठमाडौँ । प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्याल नेकपा एमालेको ११ औँ महाधिवेशनमा केन्द्रीय सदय पदमा उम्मेदवारी दिने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आएका अर्यालले पार्टीमा निरन्तरता र निष्ठाका आधारमा यसपटक केन्द्रीय सदस्यको स्वाभाविक दाबेदार रहेको बताए । शुक्रबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रेस चौतारी नेपाल पार्टीको एउटा सशक्त जनसङ्गठन भए पनि नीति निर्माण गर्ने केन्द्रमा  प्रतिनिधित्व नभएकोले यसपटक चौतारीको तर्फबाट अघि बढेको र स्वाभाविक दाबी भएको उल्लेख गरे ।

    चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको प्रवल दाबेदार रहे पनि नेतृत्वको आग्रहका कारण पछि हट्नु परेको अर्यालले सुनाए । अर्यालले आफू पार्टीका हरेक चुनौती र सङ्कटमा अडिग रूपमा उभिएको बताउँदै  भने– ‘म पार्टीबाट नबरालिएको मान्छे हो । आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु ।’

    प्रेस चौतारी नेपालको सफल अध्यक्षको छवि बनाएका अर्यालले उपत्यका विशेष प्रदेश कमिटीको सचिवालय सदस्य, गुल्मी काठमाडौँ सम्पर्क मञ्चको अध्यक्ष, अनेरास्ववियु गुल्मी काठमाडौँ सम्पर्क कमिटी अध्यक्ष, अनेरास्ववियु गुल्मी सचिवालय सदस्यका रूपमा काम गर्दै पछिल्लो पटक गुल्मीको भूगोलमा समेत रहेर सङ्गठनका काममा खटिरहेका छन् ।

    अर्याल प्रेस चौतारीको अध्यक्ष भएका बेला चौतारीले पत्रकारहरूको साझा मोर्चा तथा संस्था नेपाल पत्रकार महासङ्घ, सामुदायिक रेडियोहरूको सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ, रेडियो सञ्चालकहरूको छाता सङ्गठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), टेलिभिजनकर्मीहरुको सङ्गठन, महिलाहरूको सङ्गठन सञ्चारिका समूह, आदिवासी जनजाति पत्रकारहरूको सङ्गठन नेपाल आदिवासी जनजाति महासङ्घ लगायतमा चौतारीले जित हासिल गरेका थिए ।

    अहिले पार्टीमा अध्यक्ष केपी ओलीको विकल्प नरहेको उल्लेख गर्दै अर्यालले भने– ‘विभिन्न कारणले गर्दा देशमा देशको यो सङ्कटपूर्ण स्थितिमा सहमतिबाट नेतृत्व निर्माण होस् भन्ने नै हो । आम पार्टी पङ्क्तिको मुड देखिएकै सकेको छ कि यो सङ्कटपूर्ण अवस्थामा चाहिँ हामीलाई अझ केही समय केपी शर्मा ओलीको नेतृत्व चाहिन्छ भन्ने छ ।’

    एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar