प्रदीप यादवको समर्थनमा महिला संघ पर्साको भेला, घरदैलो अभियान तीव्र बनाउने निर्णय

  • कालिका खवर
  • सोमवार, माघ २६, २०८२
  • वीरगंज । अखिल नेपाल महिला संघ पर्साको भेला आज वीरगंजमा सम्पन्न भएको छ। भेला पर्सा क्षेत्र नं. १ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवको समर्थनमा उनलाई विजयी बनाउने उद्देश्यले आयोजना गरिएको हो।

    भेलामा सहभागी महिला नेतृ तथा कार्यकर्ताहरूले घर–घरमा पुगेर एमालेका उम्मेदवारको पक्षमा जनमत सृजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    संघकी अध्यक्ष इन्दु घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटाले देशमा राजनीतिक स्थिरता, विकास र सुशासनका लागि एमालेको विजय आवश्यक रहेको बताइन्। उनले महिला अधिकार, समानता र सशक्तीकरणका क्षेत्रमा एमालेले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिलाहरूको सक्रिय सहभागिताले मात्र पार्टीलाई बलियो बनाउन सकिने धारणा राखिन्।

    त्यस्तै नेतृ पिंकी यादव र रानी रायले प्रदीप यादवको राजनीतिक अनुभव, जनतासँगको निकटता र विकासप्रतिको प्रतिबद्धताको चर्चा गर्दै पर्सा क्षेत्र नं. १ मा उनको जित समयको आवश्यकता रहेको बताए। उनीहरूले महिला संघका कार्यकर्तालाई संगठित रूपमा चुनावी अभियानमा परिचालित हुन आह्वान गरेका थिए।

    अध्यक्ष घिमिरेले निर्वाचनसम्म निरन्तर अभियान सञ्चालन गरिने जानकारी दिँदै महिलाहरूको एकता र सक्रियताले प्रदीप यादवको जित सुनिश्चित हुने विश्वास व्यक्त गरिन्। भेलाको अन्त्यमा सहभागीहरूले एमाले र उसका उम्मेदवारको पक्षमा संगठित रूपमा लाग्ने संकल्प व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar