प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चियरम्यान क्लब तथा सिईओ क्लब एचिभर्स अवार्ड सम्पन्न

  • कालिका खवर
  • आइतवार, भदौ ७, २०८३
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरूको उच्च तहका चियरम्यान क्लब तथा सिईओ क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ।

    पर्यटकीय सहर पोखरामा भदौ ४ देखि ७ गतेसम्म चार दिन सञ्चालन भएको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्ण रूपमा भव्यताका साथ सम्पन्न भएको हो। कार्यक्रममा देशभरबाट कम्पनीका सञ्चालक समिति सदस्य, व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले अभिकर्ता पेशालाई मर्यादित र सम्मानित पेशाका रूपमा अंगाल्दै उत्कृष्ट व्यवसाय गरी अवार्ड प्राप्त गरेका सबै अभिकर्तालाई कम्पनीले गरेको सम्मानले थप हौसला प्रदान गर्ने बताइन्। उनले आगामी दिनमा पनि अभिकर्ताहरूलाई उच्च मनोबलका साथ व्यवसाय अघि बढाउन कम्पनीको तर्फबाट आवश्यक साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।

    त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले लगनशीलता र निरन्तरताबाट प्राप्त सफलता नै वास्तविक सफलता भएको बताए। अभिकर्ताहरूको सफलतालाई उत्सवका रूपमा सम्मान गर्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको उनको भनाइ थियो।

    उनले टिमवर्कबाट मात्रै ठूलो सफलता हासिल गर्न सकिने उल्लेख गर्दै सबै मिलेर काम गर्दै अघि बढे आगामी वर्ष अझ ठूला उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे।

    कार्यक्रममा आचार्य राजा बाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणले अभिकर्ताहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न तथा व्यवसायमा थप ऊर्जा र सकारात्मक सोच विकास गर्न सहयोग पुगेको कम्पनीले जनाएको छ।

    आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई कम्पनीको उच्च तहको चियरम्यान क्लब तथा दोस्रो उच्च तहको सिईओ क्लब अवार्डबाट विशेष सम्मान गरिएको थियो।

    कार्यक्रममा नेपाली चलचित्रका चर्चित अभिनेता, मोडल तथा निर्माता प्रदीप खड्काको समेत विशेष उपस्थिति रहेको थियो। अभिनेता खड्काले कार्यक्रममा आफ्नो संघर्ष र सफलताको वास्तविक जीवनकथा रोचक तथा प्रेरणादायी शैलीमा प्रस्तुत गरेका थिए।

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूको क्षमता विकास, उत्प्रेरणा तथा मनोबल अभिवृद्धिका लागि नियमित रूपमा विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar