ओमोडाले ल्यायो सी९ एसयूभीको नयाँ संस्करण, हाइब्रिड मोडलले दिन्छ १२० किमीसम्मको इलेक्ट्रिक रेन्ज

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १२, २०८३
  • काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी अन्तर्गतको ब्राण्डले आफ्नो चर्चित सी९ एसयूभीको नयाँ तथा परिमार्जित संस्करण सार्वजनिक गरेको छ। चीनमा चेरीकै प्रिमियम उप-ब्राण्ड ‘याओगुआङ’ नामबाट बिक्री भइरहेको यो मध्यम आकारको एसयूभी पेट्रोल र प्लग–इन हाइब्रिड (PHEV) दुवै विकल्पमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार गाडीको सुरुवाती मूल्य १ लाख २४ हजार ९०० युआन अर्थात् नेपाली रुपैयाँ करिब २७ लाख ८५ हजार तोकिएको छ भने उच्च संस्करणको मूल्य १ लाख ३९ हजार ९०० युआन अर्थात् करिब ३१ लाख २० हजार रुपैयाँसम्म पर्नेछ। हाइब्रिड मोडलले केवल बिजुली प्रयोग गर्दा १२० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ। सन् २०२३ मा पहिलोपटक पेट्रोल इन्जिनसहित बजारमा आएको सी९ मा सन् २०२४ मा हाइब्रिड संस्करण थपिएको थियो। अहिले सार्वजनिक गरिएको नयाँ संस्करणमा बाहिरी डिजाइनमा केही आकर्षक परिवर्तन गरिएको छ।

    हावाको अवरोध कम गर्ने प्रविधिमा सुधार गर्दै यसको ड्र्याग कोएफिसियन्ट शून्य दशमलव ३०७ कायम गरिएको कम्पनीले जनाएको छ। यद्यपि यो बजारमा रहेका र का केही प्रतिस्पर्धी मोडलभन्दा भने अझै बढी रहेको बताइएको छ। पेट्रोल संस्करण रोज्ने ग्राहकका लागि कम्पनीले ‘नाइट एडिसन’ समेत उपलब्ध गराएको छ। यसमा मिसलिन टायर, रातो क्यालिपरसहितको ब्रेक प्रणाली तथा कालो रङको खेलकुद शैलीको इन्टेरियर र एक्स्टेरियर डिजाइन समावेश गरिएको छ। गाडीको भित्री वातावरणलाई अझ स्वच्छ बनाउन चेरीले विशेष एयर प्युरिफिकेसन प्रविधि प्रयोग गरेको जनाएको छ। कम्पनीका अनुसार नयाँ गाडीहरूमा देखिने रासायनिक गन्ध हटाउँदै क्याबिनभित्रको वातावरणलाई जंगलको ताजा हावाजत्तिकै स्वच्छ बनाइएको छ। सुरक्षाको क्षेत्रमा पनि गाडीमा उल्लेखनीय सुधार गरिएको कम्पनीको दाबी छ।

    गाडीको मुख्य संरचनामा ८५ प्रतिशतभन्दा बढी उच्च मजबुती भएको स्टिल प्रयोग गरिएको छ, जसका कारण यसको छतले १० टनसम्मको भार थाम्न सक्ने बताइएको छ। यसले दुर्घटना वा गाडी पल्टिने अवस्थामासमेत यात्रुको सुरक्षामा सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ। हाइब्रिड मोडलमा प्रयोग गरिएको नयाँ प्रविधिको ब्याट्री पानीमा डुबान वा गम्भीर क्षतिमा पनि सुरक्षित रूपमा सञ्चालन हुन सक्ने दाबी गरिएको छ। प्राविधिक रूपमा गाडी झन्डै ४.८ मिटर लामो र १.९ मिटर चौडा रहेको छ। पेट्रोल संस्करणमा २ लिटरको टर्बो इन्जिन रहेको छ भने हाइब्रिड संस्करणमा १.५ लिटर पेट्रोल इन्जिन र शक्तिशाली इलेक्ट्रिक मोटरको संयोजन गरिएको छ। फास्ट चार्जर प्रयोग गर्दा यसको ब्याट्री १७ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ।

    चेरीले विश्व बजारमा आफ्नो उपस्थिति विस्तार गर्न ओमोडा ब्राण्डलाई आक्रामक रूपमा अघि बढाइरहेको भए पनि चीनको आन्तरिक बजारमा एक्सीड ब्राण्डको बिक्रीमा गिरावट देखिएको छ। पछिल्लो तथ्यांकअनुसार चीनमा यसको बिक्री वार्षिक रूपमा ६० देखि ७० प्रतिशतसम्म घटेको बताइएको छ। यस्तो अवस्थामा ओमोडा सी९ को नयाँ संस्करणले चेरीको अन्तर्राष्ट्रिय बजार विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यद्यपि, यसले चीनभित्र खस्कँदो एक्सीड ब्राण्डको साख जोगाउन सक्छ वा सक्दैन भन्ने विषय भने आगामी बजार प्रतिक्रियाले तय गर्नेछ। हाल यो गाडी नेपाली बजारमा उपलब्ध छैन। कम्पनीले नेपालमा भित्र्याउने विषयमा समेत कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar