ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न उच्चस्तरीय निर्यात व्यवसायी टोली प्रस्थान

  • कालिका खवर
  • सोमवार, साउन १८, २०८३
  • काठमाडौं । नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्दै व्यापार विस्तार गर्ने उद्देश्यका साथ निर्यात व्यवसायीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार ओमन प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालय तथा ओमनस्थित नेपाली दूतावासको पहलमा आयोजना गरिएको भ्रमणले नेपाली वस्तुको बजारीकरण, निर्यात प्रवर्द्धन तथा नेपाल–ओमनबीच प्रत्यक्ष व्यावसायिक साझेदारी (बीटुबि) विस्तार गर्ने लक्ष्य राखेको छ।

    निर्यात व्यवसायी महासंघ नेपालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले गर्नुभएको छ। टोलीमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, महासंघका उपाध्यक्ष तथा नेपाल ह्यान्डमेड पेपर एसोसिएसनका अध्यक्ष किरणकुमार डंगोल, नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम चेम्जोङ, महासंघका सल्लाहकार स्वयम्भुरत्न तुलाधर, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष मनोजकुमार यादवसहित विभिन्न निर्यातमुखी उद्योग तथा वस्तुगत संघसंस्थाका १५ जना व्यवसायी सहभागी छन्।

    चारदिने भ्रमणका क्रममा प्रतिनिधिमण्डलले ओमनस्थित नेपाली दूतावासमा व्यावसायिक अन्तरक्रिया तथा नेटवर्किङ कार्यक्रम गर्नेछ। साथै ओमन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँग द्विपक्षीय व्यापार सहकार्यका विषयमा समझदारी, ओमन इन्भेष्टमेन्ट अथोरिटीसँग लगानी तथा व्यापारिक सम्भावनाबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

    त्यसैगरी, ओमनका प्रमुख खुद्रा व्यापारिक सञ्जाल नेस्टो हाइपरमार्केट, लुलु हाइपरमार्केट र हाइपरम्याक्सका खरिद विभागसँग प्रत्यक्ष बीटुबि बैठक, नेपाली उत्पादनको नमुना प्रदर्शन (स्याम्पल शोकेसिङ) तथा बजार अवलोकन गरिनेछ। ओमनमा रहेका नेपाली समुदाय तथा व्यवसायीहरूसँग निर्यात प्रवर्द्धन र लगानी विस्तारका विषयमा समेत अन्तरक्रिया हुने ओमनस्थित नेपाली दूतावासका प्रथम सचिव विशेषकुमार शाहले जानकारी दिनुभयो।

    महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले यो भ्रमणलाई नेपाली उत्पादनको ओमनी बजारमा प्रवेश र विस्तारका लागि महत्वपूर्ण सुरुआतको रूपमा लिनुभएको छ। उहाँका अनुसार खाडी क्षेत्रको महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा रहेको ओमनमा नेपाली कृषि तथा जडीबुटीजन्य उत्पादन, हस्तकला, हस्तनिर्मित कागज, प्रशोधित खाद्यवस्तु, डेरीजन्य उत्पादन, प्राकृतिक पेयजल तथा अन्य मूल्य अभिवृद्धि भएका वस्तुको उल्लेखनीय सम्भावना रहेको छ।

    नेपाल र ओमनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय बितिसके पनि द्विपक्षीय व्यापार अझै अपेक्षाअनुसार विस्तार हुन सकेको छैन। हाल नेपालले ओमनमा गलैंचा, पश्मिना, हस्तकला, चिया, कफी, मसला, हस्तनिर्मित कागज तथा केही कृषि उत्पादन निर्यात गर्दै आएको छ भने ओमनबाट मल, रसायन तथा औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ।

    व्यापार सन्तुलन नेपालका पक्षमा नभए पनि पछिल्ला वर्षहरूमा नेपाली उत्पादनलाई खाडी बजारमा प्रवर्द्धन गर्ने प्रयास तीव्र बन्दै गएको छ। विशेषगरी ओमनलाई प्रवेशद्वारका रूपमा उपयोग गर्दै संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, बहराइन र कुवेतलगायत खाडी मुलुकमा नेपाली उत्पादनको पहुँच विस्तार गर्न सकिने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar