नयाँ लुक र प्रिमियम फिचरसहित आयो टाटा टियागो ईभी, मूल्य २८ लाख ९९ हजारदेखि

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । नेपाली बजारमा लोकप्रिय विद्युतीय ह्याचब्याक टाटा टियागो ईभी नयाँ डिजाइन र परिमार्जित फिचरसहित नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६को अवसर पारेर फेसलिफ्ट टियागो ईभी सार्वजनिक गर्दै बिक्रीसमेत सुरु गरेको हो।

    सहरी क्षेत्रमा किफायती, कम्प्याक्ट र आधुनिक विद्युतीय कार खोज्ने ग्राहकलाई लक्षित गरिएको नयाँ टियागो ईभी दुई भेरियन्टमा उपलब्ध हुनेछ। यसको बेस भेरियन्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

    नयाँ मोडलमा डिजाइन तथा फिचरमा उल्लेख्य सुधार गरिए पनि सिप्रदीले यसलाई पुरानै मूल्यमा बजारमा ल्याएको जनाएको छ। यसले नयाँ फिचरसहितको विद्युतीय कार खोज्ने ग्राहकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।

    २४ किलोवाट आवरको ब्याट्री

    नयाँ टियागो ईभीमा २४ किलोवाट आवरको लिथियम–आयन ब्याट्री प्याक जडान गरिएको छ। यसमा ५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ, जसले अधिकतम ११४ एनएम टर्क उत्पादन गर्छ।

    कम्प्याक्ट आकार र विद्युतीय पावरट्रेनका कारण सहरी ट्राफिकसँगै नेपाली सडकका उकालो तथा भिरालो मार्गमा समेत यसको प्रयोग सहज हुने अपेक्षा गरिएको छ।

    १०.२५ इन्चको टचस्क्रिन

    फेसलिफ्ट टियागो ईभीको इन्टेरियरमा पनि व्यापक परिमार्जन गरिएको छ। यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम राखिएको छ।

    यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छन्। त्यस्तै, अपडेटेड डिजिटल ककपिट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र मल्टिफङ्सन स्टेयरिङ ह्विल जस्ता सुविधा दिइएको छ।

    नयाँ अपहोल्स्ट्री तथा फिनिसिङले यसको क्याबिनलाई थप आकर्षक र प्रिमियम बनाएको कम्पनीको दाबी छ।

    सुरक्षामा पनि प्राथमिकता

    टियागो ईभी फेसलिफ्टमा सुरक्षाका लागि डुअल एयरब्याग, एबीएस, ईबीडी र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC) जस्ता सुविधा उपलब्ध छन्।

    त्यस्तै, पार्किङलाई सहज बनाउन रियर पार्किङ सेन्सर र रिभर्स क्यामेरा समेत दिइएको छ।

    किफायती मूल्य, नयाँ डिजाइन, आधुनिक फिचर तथा नेपालभर फैलिएको टाटाको सर्भिस नेटवर्कका कारण नयाँ टियागो ईभीले नेपाली विद्युतीय ह्याचब्याक बजारमा आफ्नो पकड थप बलियो बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar