निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ नेपालमा सार्वजनिक हुँदै

  • कालिका खवर
  • आइतवार, साउन २४, २०८३
  • काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ प्रिमियम एसयूभी निसान टेकटन (Nissan TEKTON) नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत टेकटनलाई नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो।

    टेकटनको नेपाल डेब्यु अगस्ट ११ अर्थात् साउन २७ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। गत जुलाई ९ मा भारतको मुम्बईमा ग्लोबल प्रिमियर गरिएको टेकटन दक्षिण एसियाली बजारमा निसानको उपस्थिति थप बलियो बनाउने महत्वपूर्ण मोडलका रूपमा आएको कम्पनीले जनाएको छ।

    प्रिमियम आराम, आधुनिक कनेक्टिभिटी र दमदार प्रदर्शनलाई संयोजन गरिएको टेकटनमा निसानको लामो SUV विरासत झल्कने डिजाइन दिइएको छ। प्रसिद्ध निसान पेट्रोलबाट प्रेरित यसको डिजाइनमा बोल्ड र मस्कुलर बडी, आकर्षक लाइन, अपराइट स्टान्स, सिग्नेचर ‘C’ आकारको एलईडी लाइट तथा होरिजोन्टल फ्रन्ट डिजाइन समावेश छन्।

    टेकटनको इन्टेरियरमा Tek-Link HD Infotainment System उपलब्ध छ। यसमा वायरलेस Apple CarPlay तथा Android Auto जस्ता कनेक्टिभिटी सुविधा छन्। इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्रुज कन्ट्रोल, रियर–भ्यु क्यामेरा, ई–शिफ्टर तथा प्रिमियम इन्टेरियर फिनिसले यात्रालाई थप आरामदायी बनाउने कम्पनीको दाबी छ।

    सुरक्षाका लागि टेकटनमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा तथा विभिन्न एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) उपलब्ध छन्। इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट र ब्लाइन्ड स्पट वार्निङजस्ता प्रविधिले चालकलाई थप सुरक्षित र आत्मविश्वासी ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। यसमा ७०० लिटरसम्मको बुट स्पेस पनि उपलब्ध छ।

    पावरट्रेनतर्फ निसान टेकटन Turbo T160 र Turbo T280 विकल्पमा उपलब्ध हुनेछ। यसले अधिकतम १६३ पीएस पावर र २८० एनएम टर्क उत्पादन गर्नेछ। विशेषगरी Turbo T280 भेरियन्टमा ६–स्पीड वेट–क्लच डीसीटी र ई–शिफ्टर उपलब्ध छ, जसले सहज गियर परिवर्तन र उत्कृष्ट नियन्त्रण प्रदान गर्ने कम्पनीले जनाएको छ।

    नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सहभागी आगन्तुकले टेकटनलाई नजिकबाट अवलोकन गर्नुका साथै यसको विशेषताबारे जानकारी लिन र निसानका प्रोडक्ट स्पेसलिस्टसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्नेछन्। अगस्ट ११ देखि १६ सम्म भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा टेकटनलाई पायोनियर मोटो कर्प/निसानको स्टलमा प्रमुख आकर्षणका रूपमा प्रदर्शन गरिनेछ।

    पायोनियर मोटो कर्प नेपालमा निसान गाडीको आधिकारिक वितरक हो। कम्पनीले देशभर बिक्री, सर्भिस तथा स्पेयर पार्ट्सको सञ्जालमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। नयाँ टेकटनको आगमनसँगै नेपाली प्रिमियम एसयूभी बजारमा निसानको प्रतिस्पर्धा थप बलियो हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar