नेपालमा सार्वजनिक भयो ‘अल न्यु हुन्डाई भेन्यु’, मूल्य ४८ लाख ९६ हजारदेखि

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । नेपाली बजारमा हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी ‘अल न्यु भेन्यु’ नयाँ डिजाइन र अत्याधुनिक प्रविधिसहित सार्वजनिक भएको छ। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा मोबिलिटी एक्स्पो–२०२६ को अवसर पारेर नयाँ पुस्ताको भेन्यु सार्वजनिक गरेको हो।

    नेपालमै एसेम्बल गरिएको नयाँ भेन्युमा अघिल्लो पुस्ताको तुलनामा डिजाइन, सुरक्षा तथा प्रविधिमा व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ। नयाँ भेन्यु नेपाली बजारमा चार फरक भेरियन्टमा उपलब्ध हुने बताइएको छ।

    पहिलोपटक एडास लेभल–२

    नयाँ भेन्युको प्रमुख आकर्षणमध्ये एडास लेभल–२ (ADAS Level 2) प्रविधि रहेको छ। यसले ड्राइभिङका क्रममा चालकलाई विभिन्न सुरक्षा तथा ड्राइभिङ असिस्ट सुविधा उपलब्ध गराउनेछ।

    त्यस्तै, नयाँ भेन्युमा इलेक्ट्रिक पार्किङ ब्रेक र अटो होल्ड जस्ता सुविधा थपिएका छन्। भेरियन्टअनुसार ३६० डिग्री क्यामेरा, फ्रन्ट पार्किङ सेन्सर, ड्राइभ मोड तथा ट्रयाक्सन मोडसमेत उपलब्ध छन्।

    यात्रुको आरामलाई ध्यान दिँदै रियर सिट रिक्लाइन फङ्सन र विन्डो सनसेडसमेत दिइएको छ।

    नयाँ डिजाइन, डुअल १२.३ इन्च स्क्रिन

    नयाँ भेन्युको बाहिरी डिजाइनमा ठूलो परिवर्तन गरिएको छ। नयाँ एलईडी लाइट, अगाडि तथा पछाडिको परिमार्जित डिजाइन र नयाँ १६ इन्च ह्वीलले एसयूभीलाई थप आधुनिक लुक दिएको छ।

    इन्टेरियरमा पनि उल्लेख्य परिवर्तन गरिएको छ। ड्यासबोर्डमा १२.३ इन्चका दुईवटा स्क्रिन जडान गरिएको छ। टप भेरियन्टमा बोसका ८ वटा स्पिकर उपलब्ध छन्।

    कम्पनीले नयाँ भेन्युमा फिजिकल कन्ट्रोललाई पनि निरन्तरता दिएको छ। पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भेन्टिलेटेड सिट र ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमले यसको क्याबिनलाई थप प्रिमियम बनाएको छ।

    तीन इन्जिन विकल्प

    इन्जिनतर्फ भने कम्पनीले अघिल्लो पुस्तामा उपलब्ध विकल्पलाई नै निरन्तरता दिएको छ। नयाँ भेन्युमा १.२ लिटर कप्पा पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन उपलब्ध छन्।

    १.२ लिटर पेट्रोल इन्जिनमा ५-स्पीड म्यानुअल र १.० लिटर टर्बो पेट्रोलमा ७-स्पीड ड्युअल-क्लच ट्रान्समिसन दिइएको छ। डिजेल संस्करणमा भने ६-स्पीड म्यानुअल र ६-स्पीड अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध छ।

    मूल्य ४८ लाख ९६ हजारदेखि

    कम्पनीले नयाँ हुन्डाई भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ। त्यस्तै, यसको उच्चस्तरीय एन लाइन (N Line) भेरियन्टको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

    नेपालमै एसेम्बलिङ भएको नयाँ भेन्युमा नयाँ डिजाइन, एडास लेभल–२, प्रिमियम इन्टेरियर तथा विभिन्न आधुनिक सुरक्षा प्रविधि थपिएसँगै नेपाली कम्प्याक्ट एसयूभी बजारमा यसको प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar