नेपाली सुनचाँदी तथा रत्न आभूषण व्यवसाय प्रवर्द्धन गर्न १६ सदस्यीय टोली दुबई प्रस्थान

  • कालिका खवर
  • सोमवार, कार्तिक ९, २०८३
  • काठमाडौँ । नेपाली सुनचाँदी तथा रत्न आभूषण व्यवसायको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन, नवीनतम प्रविधिबारे जानकारी हासिल तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको १६ सदस्यीय टोली दुबई प्रस्थान गरेको छ।

    महासंघका महासचिव निरबहादुर विश्वकर्मा (बिमल धमला) को नेतृत्वमा उक्त टोली दुबई प्रस्थान गरेको हो। टोलीले दुबईमा आयोजना हुने ‘Jewellery Gem & Technology in Dubai–2026’ प्रदर्शनीमा सहभागिता जनाउनेछ।

    प्रदर्शनीका क्रममा विश्वका विभिन्न देशका सुनचाँदी तथा रत्न आभूषण व्यवसायीसँग अनुभव आदानप्रदान गर्ने, आभूषण निर्माणमा प्रयोग भइरहेका नवीनतम प्रविधिबारे जानकारी लिने तथा अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर प्राप्त हुने महासंघले जनाएको छ।

    यस सहभागिताले नेपाली सुनचाँदी तथा रत्न आभूषण क्षेत्रको विकास र आधुनिकीकरणमा सहयोग पुग्नुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली शिल्पकला र उत्पादनको पहुँच विस्तार गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    नेपाली आभूषण व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि गर्ने लक्ष्यसहित टोलीको भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। महासंघले दुबई प्रस्थान गरेको सम्पूर्ण टोलीको सफल तथा उपलब्धिमूलक यात्राको शुभकामना व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar