नेपाली साइ–फाइ फिल्म ‘एक्लो’ को ट्रेलर भव्य रूपमा सार्वजनिक, पुस १७ देखि विश्वभर प्रदर्शन

  • कालिका खवर
  • बिहिबार, मंसिर २५, २०८२
  • काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर ललितपुरको लाविम मलमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत रिलिज गरिएको झन्डै ३ मिनेट लम्बाइको ट्रेलरले दर्शकमाझ फिल्मका रोमाञ्चक दृश्य, प्रविधि र कथालाई प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।

    ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका लेखक तथा निर्देशक प्रदीप शाही सहित प्रमुख कलाकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी लगायत कलाकार तथा हस्तीहरूको सहभागिता थियो।
    चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका दिनेश डीसी ले व्यस्तताका बाबजुद फिल्मको विषयवस्तु मन परेर यसमा काम गरेको बताए। निर्देशक शाहीले ‘एक्लो’ ले नेपाललाई टेक्निकल र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास व्यक्त गर्दै पूर्वीय आध्यात्मिकता र पश्चिमी जनराको संयोजनमा निर्माण गरिएको जानकारी दिए।

    फिल्मको छायांकन पनौती (काभ्रे) र मुस्ताङका सुन्दर भू–परिवेशमा गरिएको छ। साइन्स–फिक्सनमा आधारित यस फिल्मले सन् २०३० मा खतरनाक भाइरसका कारण मानवले पृथ्वी त्यागेको भविष्य चित्रित गर्छ। ६० वर्षपछि बेलायती अन्तरिक्षयात्री ज्याक (जेमी बेकन) हिमालयमा क्रास–ल्यान्डिङ गरी रहस्यमय गुफा–सहर र त्यहाँका पौराणिक संरक्षक (प्रदीप खड्का) सँगको भेटपछि कथा रोमाञ्चक मोडतर्फ अघि बढ्छ। निर्देशकका अनुसार बाँकी कथा दोस्रो अध्यायमार्फत प्रस्तुत गरिनेछ।

    फिल्मले यसअघि ७८औँ कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाइसकेको छ, जहाँ यसले अन्तर्राष्ट्रिय वितरक र ओटीटी प्लेटफर्ममध्ये राम्रो चासो आकर्षित गरेको थियो।

    आउँदो डिसेम्बर २८ मा अमेरिकाको न्युयोर्कस्थित Museum of the Moving Image मा ‘एक्लो’ को ऐतिहासिक प्रिमियर हुँदैछ। फिल्म पुस १७ गतेदेखि नेपालसहित विश्व बजारमा प्रदर्शनमा आउने तयारीमा छ।

    फिल्ममा प्रदीप खड्का, जेमी बेकन, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी लगायत करिब दुई दर्जन कलाकारको अभिनय समावेश छ।

    एनआरएन समूहको लगानीमा निर्माण भइरहेको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। छायांकन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, कला निर्देशन सन्तोष लामा, सेट डिजाइन राजु पेन्टर, र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ द्वारा सम्हालिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar