नेपाली बजारमा आउँदै एमजी यू९ ईभी: प्रिमियम इलेक्ट्रिक पिकअप नाइमा अटो शो २०२६ मा सार्वजनिक हुँदै

  • कालिका खवर
  • सोमवार, साउन १८, २०८३
  • काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधन (ईभी) प्रति आकर्षण तीव्र रूपमा बढिरहेका बेला एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स ले नयाँ प्रिमियम इलेक्ट्रिक पिकअप एमजी यू९ ईभी नेपाली बजारमा ल्याउने भएको छ।

    कम्पनीले आगामी साउन २७ देखि भदौ ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डप मा आयोजना हुने नाइमा अटो शो २०२६ मा एमजी यू९ ईभीलाई पहिलोपटक सार्वजनिक प्रदर्शन गर्ने तयारी गरेको छ। अटो शोमा आगन्तुकहरूले यसको मस्कुलर डिजाइन, आधुनिक प्रविधि र प्रिमियम फिचर्स प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।

    नेपाली बजारमा एमजी यू९ ईभी ‘लग्जरी’ र ‘फ्ल्यागसिप’ गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यो पिकअप सहरका पक्की सडकदेखि नेपालका दुर्गम तथा अफ–रोड मार्गलाई समेत ध्यानमा राखेर डिजाइन गरिएको हो। आकर्षक एलईडी हेडल्याम्प, बोल्ड फ्रन्ट ग्रिल र मस्कुलर बडी डिजाइनले यसलाई फरक पहिचान दिने कम्पनीको विश्वास छ।

    एमजी यू९ ईभी, एसएआईसी मोटर समूहअन्तर्गत विकास गरिएको म्याक्सस ईटेरोन ९ को पुनःब्रान्ड गरिएको संस्करण हो। दुवै मोडलले एउटै प्लेटफर्म, ड्राइभट्रेन र इन्जिनियरिङ साझा गरे पनि एमजीले यू९ मा इन्टेरियर डिजाइन, ट्रिम र फिचर प्याकेजिङलाई थप प्रिमियम तथा लाइफस्टाइल केन्द्रित बनाएको छ।

    यो पिकअपमा ३,३०० एमएमको ह्विलबेस दिइएको छ, जसले फराकिलो क्याबिन स्पेस उपलब्ध गराउँछ। यसमा ६८५ केजी पेलोड क्षमता र ३,५०० केजीसम्मको ब्रेक्ड टोइङ क्षमता रहेको छ।

    पावरट्रेनतर्फ एमजी यू९ ईभीमा डुअल–मोटर अल–ह्विल ड्राइभ सिस्टम जडान गरिएको छ। यसले ३२५ किलोवाट (१२५ किलोवाट अगाडि र २०० किलोवाट पछाडि) सम्मको पावर तथा ७०० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार गाडीले ० देखि १०० किमी प्रतिघण्टा को गति ५.८ सेकेन्ड मा हासिल गर्न सक्छ भने यसको अधिकतम गति १९० किमी प्रतिघण्टा रहेको छ।

    नेपालको विविध सडक अवस्थालाई ध्यानमा राख्दै यसमा एयर सस्पेन्सन, अगाडि डबल विशबोन तथा पछाडि मल्टि–लिङ्क सस्पेन्सन राखिएको छ। साथै नर्मल, इको, स्पोर्ट, स्नो, टो, अफ–रोड र कस्टम सहितका विभिन्न ड्राइभ मोड उपलब्ध छन्।

    एमजी यू९ ईभीमा १०२.२ किलोवाट–आवर एलएफपी ब्याट्री जडान गरिएको छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ४३० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। डीसी फास्ट चार्जिङ मार्फत ब्याट्री २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब ४२ मिनेट लाग्ने बताइएको छ।

    यसमा ६.६ किलोवाट भेहिकल–टु–लोड (V2L) प्रविधिसहित २.२ किलोवाटका इन्टेरियर पावर आउटलेट पनि उपलब्ध छन्, जसबाट यात्राकै क्रममा ल्यापटप, क्यामेरा वा अन्य विद्युतीय उपकरण सञ्चालन तथा चार्ज गर्न सकिन्छ।

    इन्टेरियरमा १२.३ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १२.३ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ८ स्पिकरयुक्त जेबीएल अडियो सिस्टम, लेदर अपहोल्स्ट्री, हिटेड स्टेयरिङ ह्विल तथा ६४ रङको एम्बियन्ट लाइटिङ जस्ता सुविधा समावेश छन्। फ्ल्यागसिप भेरियन्टमा भेन्टिलेसन, मसाज, मेमोरी फङ्सन र ८–वे इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिट समेत उपलब्ध हुनेछ।

    सुरक्षाका हिसाबले पनि एमजी यू९ ईभीमा अटोनोमस इमर्जेन्सी ब्रेकिङ (AEB), एडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन, ३६० डिग्री एचडी क्यामेरा तथा अगाडि–पछाडिका पार्किङ सेन्सरलगायतका आधुनिक एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) समावेश गरिएको छ।

    एमजी यू९ ईभीको मूल्य भने कम्पनीले नाइमा अटो शो २०२६ को अवसरमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar