नबिल बैंक र निम्बजबीच सम्झौता: एनबैंक एपमार्फत डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा उपलब्ध

  • कालिका खवर
  • सोमवार, भदौ १६, २०८२
  • काठमाडौं । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्र (MoU)मा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएका छन्।

    बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

    सम्झौताअनुसार बैंकका ग्राहकहरूले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दा बढी देश र क्षेत्रका लागि डाटा ई–सिम खरिद गर्न सक्नेछन्। विद्यार्थी, वैदेशिक रोजगारीमा जाने र विदेश भ्रमण गर्ने ग्राहकहरू बैंक एपमार्फत सजिलै सम्बन्धित देशको डाटा प्लान खरिद गर्न सक्नेछन्।

    नायब प्रमुख कार्यकारी अधिकृत बाजगाईँले भने, “विदेश जानासाथ इन्टरनेटको समस्या, सिम खरिदका लागि KYC फाराम भर्ने र विदेशी मुद्रा बुझाउने चुनौतीहरूलाई मध्यनजर गर्दै यो सुविधा उपलब्ध गराइएको हो। ग्राहकहरूले एपमार्फत आफू अनुकुलको डाटा प्याकेज सजिलै खरिद गर्न सक्नेछन्।”

    यसका साथै, ग्राहकहरूले एनबैंक एपमार्फत अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) पनि आवेदन दिन सक्नेछन्। संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने यस परमिट १९० भन्दा बढी देशका लागि मान्य हुनेछ। आवेदन दिन १० मिनेटभित्र अनलाइन प्रक्रिया पूरा गर्न सकिनेछ। आफ्नै सवारी चालक अनुमतिपत्र अपलोड गरी डिजिटल वा फिजिकल कार्ड दुवै स्वरूपमा २४ घण्टाभित्र अनुमति प्राप्त गर्न सकिनेछ।

    निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले यस सेवाले विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई सीमापार आवागमन सहज र तनावमुक्त बनाउने विश्वास व्यक्त गरे।

    निम्बज एक अग्रणी सुपर एप हो, जसमा च्याट, भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटीटी मूभी, डिजिटल वालेट, क्विज, गेम तथा अन्य सुविधाहरू एकै प्लेटफर्ममा उपलब्ध छन्।

    नबिल बैंक नेपालमा अग्रणी बैंकको रूपमा २५ लाखभन्दा बढी ग्राहकहरूलाई २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि बैंकले नवीनतम सेवाहरू सुरुवात गर्दै नेपालको बैंकिङ क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar