भारतमा होन्डामाथि टीभीएसको दबाब बढ्दो, विद्युतीय स्कुटरले बदल्दै बजारको समीकरण

  • कालिका खवर
  • बिहिबार, असार ११, २०८३
  • काठमाडौँ । भारतीय दुईपाङ्ग्रे सवारीसाधन बजारमा लामो समयदेखि स्कुटर सेग्मेन्टमा एकछत्र प्रभुत्व कायम गर्दै आएको जापानी ब्रान्ड होन्डालाई स्वदेशी कम्पनी टीभीएस मोटरले बलियो चुनौती दिन थालेको छ। एक समय एक्टिभा र डिओ जस्ता लोकप्रिय मोडलका कारण ग्राहकको पहिलो रोजाइ बनेको होन्डाको बजार हिस्सा पछिल्ला वर्षहरूमा लगातार खुम्चिँदै गएको छ भने टीभीएसले आक्रामक विस्तारसँगै आफ्नो प्रभाव उल्लेखनीय रूपमा बढाएको छ।

    सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (SIAM) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०१७ मा भारतीय स्कुटर बजारको करिब ५७ प्रतिशत हिस्सा ओगटेको होन्डाको बजार हिस्सा आर्थिक वर्ष २०२६ सम्म आइपुग्दा घटेर झण्डै ३९ प्रतिशतमा सीमित भएको छ। यसको विपरीत टीभीएसले सोही अवधिमा आफ्नो बजार हिस्सा लगभग दोब्बरले वृद्धि गर्दै २८ प्रतिशतभन्दा माथि पुर्‍याएको छ।

    भारतीय स्कुटर बजार विगत नौ वर्षमा उल्लेखनीय रूपमा विस्तार भएको छ। आर्थिक वर्ष २०१७ मा करिब ५६ लाख युनिट रहेको वार्षिक स्कुटर बिक्री आर्थिक वर्ष २०२६ मा बढेर ८१ लाख युनिटभन्दा माथि पुगेको छ। तर बजारको यो वृद्धिबाट होन्डाले अपेक्षित लाभ लिन नसकेको देखिन्छ। नौ वर्षअघि वार्षिक करिब ३२ लाख स्कुटर बिक्री गरेको होन्डाको बिक्री पछिल्लो अवधिमा उल्टै घटेको छ।

    यता टीभीएसले भने यही अवधिमा आफ्नो व्यवसायलाई तीव्र रूपमा विस्तार गरेको छ। आर्थिक वर्ष २०१७ मा करिब ८ लाख स्कुटर बिक्री गर्ने कम्पनीले आर्थिक वर्ष २०२६ मा २३ लाखभन्दा बढी युनिट बिक्री गर्दै बजारमा आफ्नो बलियो उपस्थिति स्थापित गरेको छ। कम्पनीका ‘जुपिटर’ र ‘एनटर्क’ जस्ता मोडलहरू यसको सफलताका प्रमुख आधार बनेका छन्।

    टीभीएसको वृद्धिमा विद्युतीय स्कुटरको भूमिका अझ महत्वपूर्ण देखिएको छ। कम्पनीको ‘आईक्युब’ जस्ता ईभी मोडलले भारतीय बजारमा राम्रो प्रतिक्रिया पाएको छ। आर्थिक वर्ष २०२० मा केवल ६२ युनिट विद्युतीय स्कुटर बिक्री गरेको टीभीएसले आर्थिक वर्ष २०२६ सम्म आइपुग्दा साढे तीन लाखभन्दा बढी ईभी बिक्री गर्न सफल भएको छ। हाल कम्पनीले बिक्री गर्ने प्रत्येक पाँच स्कुटरमध्ये एक विद्युतीय रहेको बताइन्छ।

    कुनै समय होन्डा र टीभीएसबीच वार्षिक बिक्रीमा २३ लाखभन्दा बढी युनिटको अन्तर थियो। तर पछिल्ला वर्षहरूमा यो अन्तर तीव्र रूपमा घट्दै गएको छ। आर्थिक वर्ष २०२७ को सुरुआती दुई महिना अप्रिल–मेको तथ्याङ्कअनुसार दुवै कम्पनीबीचको बिक्री अन्तर ९४ हजार युनिटमा सीमित भएको छ। यस अवधिमा होन्डाको बजार हिस्सा ३५ प्रतिशतमा झरेको छ भने टीभीएस २८ प्रतिशतभन्दा माथि पुगेको छ।

    भारतीय बजारमा देखिएको यही प्रवृत्तिको प्रभाव नेपाली बजारमा पनि विस्तारै देखिन थालेको छ। नेपालमा होन्डाको बजार हिस्सा अझै बलियो रहे पनि टीभीएसले युवा पुस्तामाझ आफ्नो लोकप्रियता बढाउँदै लगेको छ। विशेषगरी ‘एनटर्क’ स्कुटरले स्पोर्टी डिजाइन र शक्तिशाली इन्जिनका कारण राम्रो बजार बनाएको छ।

    टीभीएसले नेपाली बजारमा ‘जुपिटर’, ‘एनटर्क’ तथा ‘आईक्युब’ विद्युतीय स्कुटर उपलब्ध गराउँदै आएको छ। पेट्रोलियम पदार्थको बढ्दो मूल्य र विद्युतीय सवारीप्रतिको आकर्षणका कारण आईक्युबले पनि पछिल्लो समय सकारात्मक बजार प्रतिक्रिया पाइरहेको छ।

    यद्यपि नेपाली बजारमा होन्डाका लागि चुनौती केवल टीभीएसबाट मात्र छैन। यामाहा, हिरो, एथर, बजाज चेतक र याडिया जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूले पनि आफ्नो उपस्थिति विस्तार गर्दै प्रतिस्पर्धालाई थप तीव्र बनाइरहेका छन्। आगामी वर्षहरूमा विद्युतीय सवारीको बढ्दो प्रयोगसँगै दुईपाङ्ग्रे बजारमा प्रतिस्पर्धा अझ रोचक बन्ने विश्लेषण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar