नाम्मी भिगो ई टु नेपालमा भित्रियो, ३९ लाखदेखि मूल्य पर्ने अनुमान

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौं । नेपाली बजारमा विद्युतीय एसयूभीको आकर्षण बढिरहेका बेला बहुचर्चित ‘नाम्मी भिगो ई टु’ नेपाल भित्रिएको छ। नेपालका लागि डोङफेङ नाम्मीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नयाँ भेरियन्ट सार्वजनिक गर्न लागेको हो।

    हाल नेपाली बजारमा उपलब्ध नाम्मी भिगो ई टु प्लसले पाएको सफलतापछि कम्पनीले थप ग्राहकको पहुँचमा पुर्‍याउने उद्देश्यले नयाँ ई टु भेरियन्ट ल्याएको हो। यसलाई ई टु प्लसभन्दा केही किफायती मूल्यमा उपलब्ध गराउने तयारी गरिएको छ।

    ‘नाम्मी भिगो ई टु’मा ९९ किलोवाटको फ्रन्ट–ह्विल ड्राइभ मोटर जडान गरिएको छ। यसले २९० एनएम टर्क र १८१ हर्सपावर उत्पादन गर्छ। गाडीमा ४४.९४ किलोवाट–घण्टाको लिथियम आइरन फोस्फेट (LFP) ब्याट्री दिइएको छ। ई टु प्लसमा भने ५१.८७ किलोवाट–घण्टाको ब्याट्री रहेको छ।

    रेन्जका हिसाबले नयाँ भेरियन्टले एकपटकको पूर्ण चार्जमा WLTP अनुसार ३०० किलोमिटर र CLTC अनुसार ४०१ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ। गाडीले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति ३.६ सेकेन्ड र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब ७.८ सेकेन्डमा हासिल गर्न सक्छ। यसको अधिकतम गति १५० किलोमिटर प्रतिघण्टा रहेको छ।

    डीसी फास्ट चार्जरबाट ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म १८ देखि ३० मिनेटमा चार्ज गर्न सकिने बताइएको छ। दैनिक प्रयोगका लागि उपयुक्त ब्याट्री क्षमता र तीव्र चार्जिङ क्षमताले गाडीलाई शहरी तथा लामो दूरीको यात्राका लागि उपयोगी बनाउने अपेक्षा गरिएको छ।

    आकारका हिसाबले गाडीको लम्बाइ ४,३०६ मिमि, चौडाइ १,८६८ मिमि र उचाइ १,६४५ मिमि रहेको छ। यसको ह्विलबेस २,७१५ मिमि र ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ। सामान राख्न ५०० लिटरको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिको सिट फोल्ड गर्दा १,०४० लिटरसम्म विस्तार गर्न सकिन्छ।

    सुरक्षातर्फ ३६० डिग्री क्यामेरा, अटो पार्किङ असिस्ट र लेभल–२ एडीएएस जस्ता प्रविधि उपलब्ध छन्। त्यस्तै, गाडीमा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, भेन्टिलेटेड तथा हिटेड लेदर सिट र V2L (Vehicle-to-Load) सुविधा पनि दिइएको छ।

    चिनियाँ बजारमा नाम्मी भिगो, जसलाई चीनमा नाम्मी ०६ नामले चिनिन्छ, यसको सुरुआती मूल्य ८९,९०० युआनबाट सुरु हुन्छ। नेपालमा हाल बिक्री भइरहेको नाम्मी भिगो ई टु प्लसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ। नयाँ ई टु भेरियन्टमा ब्याट्री क्षमता तथा केही सुविधा कम भएकाले यसको मूल्य ३९ देखि ४० लाख रुपैयाँको हाराहारीमा रहने अनुमान गरिएको छ।

    एमएडब्लू वृद्धिका अनुसार हाल नेपालमा २,००० भन्दा बढी नाम्मी गाडी सञ्चालनमा छन्। मनाङ, मुस्ताङ र शुक्लाफाँटालगायतका चुनौतीपूर्ण तथा उच्च हिमाली क्षेत्रमा समेत नाम्मीका गाडीले यात्रा पूरा गरिसकेको कम्पनीको दाबी छ।

    किफायती मूल्य, फराकिलो क्याबिन, एसयूभी डिजाइन, १९० मिमि ग्राउन्ड क्लियरेन्स र ४०० किलोमिटर हाराहारीको CLTC रेन्जका कारण नाम्मी भिगो ई टु नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धी बन्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar