नाइमा मोबिलिटी एक्स्पोमा आइकार भी–२७ को डेब्यु, अफरोड ई–एसयूभी बजारमा नयाँ चुनौती

  • कालिका खवर
  • मङ्लबार, साउन १२, २०८३
  • काठमाडौँ । नेपाली विद्युतीय सवारीसाधन बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला अफरोड एसयूभी खण्डमा पनि नयाँ विकल्प थपिने भएको छ। चिनियाँ अटो निर्माता चेरी अटोमोबाइल ग्रुपअन्तर्गतको नयाँ ऊर्जा सवारी ब्रान्ड iCAR को बहुप्रतीक्षित V27 एसयूभी नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।

    नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आगामी नाइमा मोबिलिटी एक्स्पोमा पहिलोपटक आइकार भी–२७ लाई सार्वजनिक प्रदर्शन गर्ने तयारी गरेको छ। कम्पनी स्रोतका अनुसार गाडी अगस्टको पहिलो साताभित्र नेपाल आइपुग्नेछ। व्यावसायिक बिक्री कहिलेदेखि सुरु हुने भन्नेबारे भने कम्पनीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

    हाल नेपाली बजारमा उपलब्ध अधिकांश विद्युतीय एसयूभीहरू सहरी प्रयोगलाई केन्द्रमा राखेर डिजाइन गरिएका छन्। तर, आइकार भी–२७ भने बाक्लो अफरोड शैली, बक्सी डिजाइन, शक्तिशाली हाइब्रिड प्रणाली र लामो दूरी पार गर्न सक्ने क्षमतासहित फरक पहिचान बोकेर आउँदैछ। यसले साहसिक यात्रा रुचाउने तथा प्रिमियम एसयूभी खोज्ने ग्राहकलाई लक्षित गर्ने अपेक्षा गरिएको छ।

    एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक प्रविधि

    भी–२७ परम्परागत हाइब्रिड होइन। यसमा Extended Range Electric Vehicle (EREV) प्रविधि प्रयोग गरिएको छ। गाडीलाई मुख्य रूपमा इलेक्ट्रिक मोटरले चलाउने व्यवस्था गरिएको छ भने १.५ लिटर टर्बो पेट्रोल इन्जिनले आवश्यक पर्दा ब्याट्री चार्ज गर्ने ‘रेन्ज एक्सटेन्डर’को भूमिका निर्वाह गर्छ। यसले दैनिक यात्रा विद्युतीय मोडमै सम्भव बनाउनुका साथै लामो दूरीमा चार्जिङको चिन्ता पनि कम गर्ने कम्पनीको दाबी छ।

    शक्तिशाली प्रदर्शन

    चिनियाँ बजारमा भी–२७ रियर ह्वील ड्राइभ (RWD) र अल ह्वील ड्राइभ (AWD) गरी दुई संस्करणमा उपलब्ध छ। नेपालमा कुन संस्करण आउने भन्नेबारे कम्पनीले खुलाएको छैन। यदि AWD संस्करण ल्याइयो भने यसले प्रिमियम अफरोड एसयूभी बजारमा बलियो प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।

    AWD संस्करणले अधिकतम ३३५ किलोवाट शक्ति र ५०५ न्यूटन–मिटर टर्क उत्पादन गर्छ। यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.५ सेकेन्डमै हासिल गर्न सक्छ, जुन यसको प्रमुख आकर्षणमध्ये एक हो।

    १,२०० किलोमिटरसम्मको संयुक्त रेन्ज

    ऊर्जाका लागि भी–२७ मा सीएटीएल (CATL) द्वारा निर्मित ३४.३ किलोवाट–आवर क्षमताको लिथियम आइरन फस्फेट (LFP) ब्याट्री प्याक प्रयोग गरिएको छ। पूर्ण चार्जमा यसले करिब १४५ किलोमिटर शुद्ध विद्युतीय यात्रा गर्न सक्छ। त्यसपछि पेट्रोल इन्जिनले ब्याट्री चार्ज गर्ने भएकाले पूर्ण ब्याट्री र इन्धन ट्याङ्कीसहित करिब १,२०० किलोमिटरसम्मको संयुक्त यात्रा सम्भव हुने कम्पनीको दाबी छ।

    ठूलो आकार, स्मार्ट प्रविधि

    भी–२७ को लम्बाइ ५,०५५ मिमी, चौडाइ १,९७६ मिमी, उचाइ १,८९४ मिमी तथा ह्वीलबेस २,९१० मिमी रहेको छ। यसको विशाल केबिन, फराकिलो लेगरुम र ठूलो लगेज स्पेसका साथै सात सिटको लेआउट उपलब्ध हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय विवरणहरूले देखाएका छन्।

    प्रविधिको हिसाबले पनि यो एसयूभी अत्याधुनिक छ। यसमा Horizon Journey 6P उच्च क्षमताको कम्प्युटिङ चिप र Falcon 700 ADAS प्लेटफर्म समावेश गरिएको छ, जसले उन्नत चालक सहायता प्रणाली, बुद्धिमान सुरक्षा सुविधा तथा डिजिटल अनुभवलाई थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ।

    चेरी ग्रुपले पछिल्ला वर्षहरूमा नयाँ ऊर्जा सवारी क्षेत्रमा आक्रामक विस्तार गर्दै आइकार ब्रान्डमार्फत युवा पुस्ता र साहसिक जीवनशैली रुचाउने ग्राहकलाई लक्षित गरिरहेको छ। नेपालमा भी–२७ को आगमनसँगै प्रिमियम अफरोड विद्युतीय तथा एक्सटेन्डेड रेन्ज एसयूभी खण्डमा नयाँ प्रतिस्पर्धा सुरु हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar