नाइमा एक्स्पोमा लिपमोटरलाई ३०० भन्दा बढी गाडीको बुकिङ

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ३०० भन्दा बढी विद्युतीय गाडीको बुकिङ प्राप्त गरेको जनाएको छ।

    भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन भएको एक्स्पोमा लिपमोटरको स्टलमा उल्लेख्य भीड लागेको कम्पनीले जनाएको छ। विशेषगरी हालै नेपाली बजारमा सार्वजनिक गरिएका लिपमोटर सी१० र सी११ मोडलप्रति ग्राहकको आकर्षण देखिएको कम्पनीको भनाइ छ।

    लिपमोटर सी१० मा १४५ किलोवाटको मोटर, ५३ किलोवाट–घण्टाको ब्याट्री र सीएलटीसी मापदण्डअनुसार ५०५ किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ। यसमा ५१० लिटरको बुट स्पेस तथा विभिन्न आधुनिक सुरक्षा प्रविधि उपलब्ध छन्।

    त्यस्तै, लिपमोटर सी११ ले पनि एक्स्पोमा अवलोकनकर्ताबाट उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। हालै गरिएको मूल्य समायोजन तथा एक्स्पोका विशेष अफरका कारण सी११ प्रति ग्राहकको चासो थप बढेको सांग्रिला मोटर्सको भनाइ छ।

    सी१० र सी११ दुवै मोडलमा देखिएको उच्च मागका कारण लिपमोटरको स्टल एक्स्पोका व्यस्त स्टलमध्ये एक बनेको कम्पनीले जनाएको छ। एक्स्पोपछि प्राप्त बुकिङअनुसार ग्राहकलाई छिटो सवारी उपलब्ध गराउने तथा नेपालभर बिक्री र सेवा सञ्जाल विस्तारमा कम्पनी केन्द्रित हुने जनाएको छ।

    सांग्रिला मोटर्सले एक्स्पोमा सहभागी सम्पूर्ण अवलोकनकर्ता तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ। कम्पनीका अनुसार ग्राहकको प्रतिक्रिया र बजारको मागले नेपालमा लिपमोटरका विद्युतीय सवारीप्रतिको चासो बढिरहेको देखाएको छ।

    लिपमोटर चीनको विद्युतीय सवारी ब्रान्ड हो, जसले विश्वव्यापी अटोमोबाइल समूह स्टेलान्टिससँग सहकार्य गर्दै आएको कम्पनीले जनाएको छ। लिपमोटरका अनुसार हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी बिक्री भइसकेका छन्। जुलाईमा मात्रै एक लाखभन्दा बढी युनिट बिक्री भएको र ४० भन्दा बढी देशमा १ हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र रहेको कम्पनीको दाबी छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar