नाइमा एक्स्पोमा बीवाईडीका तीन अपग्रेडेड मोडल, एट्टो १ देखि एट्टो ३ इभोमा यस्ता छन् नयाँ फिचर

  • कालिका खवर
  • सोमवार, साउन २५, २०८३
  • काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजारमा लोकप्रिय बीवाईडीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा आफ्ना तीन प्रमुख मोडलका अपग्रेडेड संस्करण प्रदर्शन गर्ने भएको छ। भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म आयोजना हुने एक्स्पोमा कम्पनीले एट्टो १, एट्टो २ र एट्टो ३ इभोलाई नयाँ प्रविधि र परिमार्जित फिचरसहित प्रस्तुत गर्न लागेको हो।

    यी तीनै मोडलमा ब्याट्री क्षमता, पावर, चार्जिङ प्रविधि, ड्राइभट्रेन तथा इन्टेरियरमा उल्लेख्य परिवर्तन गरिएको छ। विशेषगरी एट्टो २ मा प्लग–इन हाइब्रिड विकल्प र एट्टो ३ इभोमा ८०० भोल्ट आर्किटेक्चर तथा २२० किलोवाटसम्मको फास्ट चार्जिङ प्रमुख आकर्षण बनेका छन्।

    एट्टो १ मा ठूलो ब्याट्री र बढी पावर

    अन्तर्राष्ट्रिय बजारमा डल्फिन सर्फ वा सिगल नामले चिनिने एट्टो १ लाई नेपालमा इन्ट्री–लेभल ईभीका रूपमा प्रस्तुत गरिँदैछ। यसको अपग्रेडेड संस्करणमा ३८.८८ देखि ४३.२ किलोवाट आवरसम्मको ब्लेड एलएफपी ब्याट्री उपलब्ध हुने बताइएको छ।

    यसबाट गाडीको रेन्ज करिब ३०० देखि ३१० किलोमिटरसम्म पुग्ने दाबी गरिएको छ। मोटरको पावर पनि अघिल्लो संस्करणको ६५ किलोवाटबाट बढाएर ११५ किलोवाटदेखि केही अन्तर्राष्ट्रिय संस्करणमा १३० किलोवाटसम्म पुर्‍याइएको छ।

    गाडीले ६५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ। साथै, बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न मिल्ने २.२ किलोवाट भीटुएल सुविधा पनि उपलब्ध हुनेछ।

    एट्टो १ मा १०.१ इन्चको रोटेटिङ टचस्क्रिन, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ओटीए अपडेट, एडप्टिभ क्रुज कन्ट्रोल र अटोमेटेड इमर्जेन्सी ब्रेकिङजस्ता फिचर उपलब्ध छन्। ब्लेड ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुने बताइएको छ।

    एट्टो २ मा ईभीसँगै प्लग–इन हाइब्रिड

    अन्तर्राष्ट्रिय बजारमा ‘युआन अप’ नामले चिनिने एट्टो २ मा यसपटक ड्राइभट्रेनमै ठूलो परिवर्तन गरिएको छ। नयाँ संस्करणलाई फ्रन्ट–ह्विल ड्राइभबाट रियर–ह्विल ड्राइभमा रूपान्तरण गरिएको छ। पछाडिको सस्पेन्सन पनि मल्टि–लिङ्क बनाइएको छ।

    यसको अर्को महत्वपूर्ण पक्ष भनेको शुद्ध ईभीसँगै १.५ लिटर पेट्रोल जेनेरेटरसहितको डीएम–आई प्लग–इन हाइब्रिड विकल्प उपलब्ध हुनु हो।

    शुद्ध ईभी संस्करणमा ५१.१३ किलोवाट आवरको ब्लेड ब्याट्री र १३० किलोवाटको मोटर रहनेछ। यसले डब्लुएलटीपी परीक्षणमा ३४५ किलोमिटर तथा सीएलटीसी मापदण्डमा ५०५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।

    हाइब्रिड संस्करणमा ७.८ र १८ किलोवाट आवरका ब्याट्री विकल्प रहनेछन्। १८ किलोवाट आवरको ब्याट्रीले इन्जिन प्रयोग नगरी विद्युतीय शक्तिमै करिब ९० किलोमिटरसम्म चल्न सक्ने बताइएको छ।

    एट्टो २ मा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ४०० लिटरको बुट स्पेस, ८० देखि ८२ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ, ६ वटा एयरब्याग र १२.८ इन्चको रोटेटिङ टचस्क्रिन उपलब्ध हुनेछन्। थप रूपमा लिडार र उन्नत ड्राइभिङ असिस्ट सिस्टम पनि समावेश गरिएको छ।

    एट्टो ३ इभोमा २२० किलोवाट फास्ट चार्जिङ

    नेपालमा लोकप्रिय एट्टो ३ को नयाँ एट्टो ३ इभो संस्करणमा भने सबैभन्दा ठूलो पावर र चार्जिङ अपग्रेड गरिएको छ।

    अघिल्लो संस्करणको फ्रन्ट–ह्विल ड्राइभलाई हटाएर नयाँ मोडलमा रियर–ह्विल ड्राइभ र अल–ह्विल ड्राइभ विकल्प ल्याइएको छ। सिंगल मोटर आरडब्ल्यूडी संस्करणले २३० किलोवाट (३१३ पीएस) पावर उत्पादन गर्नेछ भने एब्लूडब्ल्यूडी टप भेरियन्टले ३३० किलोवाट (४४९ पीएस) पावर र ५६० एनएम टर्क उत्पादन गर्ने बताइएको छ।

    एडब्ल्यूडी संस्करणले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ३.९ सेकेन्डमै हासिल गर्न सक्ने दाबी गरिएको छ।

    एट्टो ३ इभोमा ८०० भोल्टको हाइ–भोल्टेज आर्किटेक्चर र ७४.८ किलोवाट आवरको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ। यसको रेन्ज डब्लुएलटीपीअनुसार ४७० देखि ५१० किलोमिटर र सीएलटीसीअनुसार ६३० किलोमिटरसम्म हुने बताइएको छ।

    यसको सबैभन्दा आकर्षक पक्ष २२० किलोवाट डीसी फास्ट चार्जिङ हो। उपयुक्त चार्जर प्रयोग गर्दा ब्याट्री १० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब २५ मिनेटमा चार्ज गर्न सकिने दाबी गरिएको छ।

    नयाँ एट्टो ३ इभोको लम्बाइ ४,६६५ मिलिमिटर, चौडाइ १,८९५ मिलिमिटर र ह्विलबेस २,७७० मिलिमिटर पुगेको छ। पछाडि ४९० देखि ७५० लिटरसम्मको बुट स्पेससँगै अगाडि १०१ देखि १८० लिटरसम्मको फ्रंक पनि उपलब्ध हुनेछ।

    क्याबिनमा १५.६ इन्चको रोटेटिङ स्क्रिन, हेड–अप डिस्प्ले, ५० वाट वायरलेस चार्जिङ, १६ स्पिकरको साउन्ड सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो र भ्वाइस कन्ट्रोलजस्ता सुविधा थपिएका छन्।

    सुरक्षातर्फ लिडार सेन्सर, ३० वटा सेन्सिङ युनिट, उन्नत ड्राइभर असिस्ट सिस्टम, ७ एयरब्याग र इन्टेलिजेन्ट क्रुज कन्ट्रोललगायतका प्रविधि उपलब्ध हुनेछन्।

    नाइमा नेपाल मोबिलिटी एक्स्पोमा यी तीन मोडल सार्वजनिक तथा प्रदर्शन भएपछि नेपाली बजारमा बीवाईडीले आफ्नो ईभी पोर्टफोलियोलाई थप प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ। विशेषगरी एट्टो १ को बढी रेन्ज, एट्टो २ को प्लग–इन हाइब्रिड विकल्प र एट्टो ३ इभोको उच्च पावर तथा सुपरफास्ट चार्जिङ एक्स्पोका मुख्य आकर्षण बन्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar