नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

  • कालिका खवर
  • बुधबार, पुस ३०, २०८२
  • काठमाडौं । नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ।

    सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाबअनुसार प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि सभाले अनुमोदन गरेको छ।

    साधारणसभामा अध्यक्ष घिमिरेले हालसम्म कोषका कार्यक्रमभित्र नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका सर्वसाधारणलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवर्द्धन गर्दै लैजाने योजना रहेको बताउनुभयो। उहाँले आगामी दिनमा बचत संकलनको दायरा विस्तार गरिनेमा जोड दिनुभयो।

    त्यसैगरी, कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागी कर्जाको विस्तार गर्ने, सेयर धितो कर्जा प्रदान गर्ने तथा जोखिम विश्लेषणका आधारमा उपयुक्त पूर्वाधारसम्बन्धी परियोजनामा लगानी बढाउँदै लैजाने नीति लिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो।

    साधारणसभामा सेयरधनीहरूले उठाएका जिज्ञासाहरूबारे कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले स्पष्ट पार्नुभयो। उहाँले कोषको वर्तमान वस्तुस्थिति प्रस्तुत गर्दै सेयरधनीहरूबाट प्राप्त सुझाव तथा जिज्ञासालाई आगामी दिनमा क्रमशः सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यकारी निर्देशक कार्कीले नागरिक लगानी कोष ऐनले निर्दिष्ट गरेको समयसीमाभित्रै पछिल्ला वर्षदेखि साधारणसभा गर्न सफल भएको उल्लेख गर्नुभयो। डिजिटल युगअनुसार कोषले पनि आफ्ना सेवा तथा कार्यप्रणालीलाई डिजिटल प्रणालीतर्फ उन्मुख गरिरहेको उहाँको भनाइ थियो। साथै, हालको अधिक तरलताका कारण कोषको मौज्दात रकम पूर्ण रूपमा परिचालन गर्न केही चुनौती रहेको विषय पनि उहाँले औँल्याउनुभयो।

    कोषले लगानी विविधीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरेको, नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रिया अघि बढाएको, विभिन्न जलविद्युत् आयोजनामा लगानीका लागि कार्य अघि बढाएको तथा उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक गृहकार्य भइरहेको कार्यकारी निर्देशक कार्कीले जानकारी दिनुभयो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar