नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

  • कालिका खवर
  • सोमवार, साउन ११, २०८३
  • काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा नागरिक एपबाटै अनलाइनमार्फत बैंक खाता खोल्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ। राष्ट्रिय परिचयपत्रका आधारमा नागरिक एपमा आबद्ध नेपाली नागरिकले अब एपमार्फत व्यक्तिगत बचत खाता सहज रूपमा खोल्न सक्ने भएका हुन्।

    बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले एपभित्र उपलब्ध लिंकमार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी खाता खोल्न सक्नेछन्। यसका लागि आवश्यक क्यूआर कोड नागरिक एपमा उपलब्ध गराइएको लिंकमार्फत प्राप्त गर्न सकिनेछ।

    नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्।

    खाता खोल्ने क्रममा बैंकले ग्राहकको पूर्वसहमति लिएर खाताका लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्ने व्यवस्था गरेको छ। यसले व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हटाउनुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षासमेत सुनिश्चित हुने बैंकले जनाएको छ।

    नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले आफ्नो नजिकको शाखा कार्यालयमा उपस्थित भई वा भिडियो केवाईसी (KYC) मार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

    बैंकका अनुसार यस सेवाको सुरुवातसँगै सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल तथा भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तार गरिएको छ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउँदै ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

    आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरिसकेको छ। साथै बैंकले ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारसमेत हासिल गरेको जनाएको छ।

    ग्लोबल आइएमई बैंक निजी क्षेत्रबाट मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४२ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar