नाडाद्वारा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग

  • कालिका खवर
  • बिहिबार, भदौ १८, २०८३
  • काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले रसुवालगायतका क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

    हालै भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको नाडाले जनाएको छ।

    नगद सहयोगसँगै नाडाले बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर प्रभावित नागरिकहरूको तत्कालीन आवश्यकता पहिचान गर्दै राहत सामग्रीसमेत वितरण गरिरहेको जनाएको छ। नाडाको टोलीले प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गर्दै विपद्को कठिन घडीमा प्रभावित परिवारलाई सहयोग पुर्‍याइरहेको छ।

    नाडाले बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत नगद सहयोगसँगै प्रत्यक्ष राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ। प्रभावित नागरिकहरूको पीडामा साथ दिँदै आवश्यक सहयोग पुर्‍याउनु आफ्नो सामाजिक दायित्व भएको नाडाको भनाइ छ।

    अर्थमन्त्रीसँगको भेटमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष निलमणि पाठकलगायतको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar